भोटेकोशी बाढीले १८ सय हेक्टर खेतीमा क्षति, दीर्घकालीन पुनःस्थापनामा साथ दिन्छाैँः एफएओ


काठमाडौं । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक बाढीका कारण करिब १ हजार ८ सय हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएकाे छ ।

प्रारम्भिक मूल्याङ्कन विशेषगरी धानबालीमा ठूलो क्षति पुगेको छ भने हजारौं पशुपन्छी मारिएका छन्। रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका ग्रामीण बस्तीमा ठूलो मानवीय तथा आर्थिक क्षति पुर्‍याएको र विशेषगरी किसानकाे जिविकाेपार्जन संकटमा परेकाे एफएओले बताएकाे हाे ।

एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीबाट किसान तथा पशुपालक समुदायमा परेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी रोपाइँ मौसम सुरु हुनुअघि कृषि उत्पादन पुनःस्थापना गर्नुपर्ने आवश्यकताबारे धारणा व्यक्त गरेकी छन्।

विपद्को असर मानवीय क्षतिमा मात्र सीमित नभई कृषि उत्पादन, पशुपालन, मत्स्यपालन तथा ग्रामीण जीविकोपार्जनका आधारमा समेत परेको प्रारम्भिक मूल्याङ्कनले देखाएको धारणा बेचडाेलले जनाएकी छिन् ।

बाढीले कृषियोग्य जमिनसँगै मत्स्य पोखरी, खाद्यान्न भण्डार र कृषि पूर्वाधारमा समेत क्षति पुर्‍याएको छ। यसबाट प्रभावित किसान परिवारको तत्कालीन खाद्य आवश्यकता पूरा गर्न कठिनाइ हुनुका साथै आगामी उत्पादन चक्र र आम्दानीमा समेत दीर्घकालीन असर पर्ने जोखिम बढेको छ।

विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गरिरहेको एफएओले आपत्कालीन पशु स्वास्थ्य सेवा, कृषि क्षेत्रमा भएको क्षतिको मूल्याङ्कन तथा ग्रामीण जीविकोपार्जन पुनःस्थापनाका काम अघि बढाइरहेको छ।

बाढीले जीविकोपार्जनका आधार बगायो

बेचडोलका अनुसार हालैको बाढीले मानवीय रूपमा अत्यन्त पीडादायी क्षति पुर्‍याएको छ।

“एक हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन्, हजारौं अझै सम्पर्कविहीन छन् र सम्पूर्ण समुदाय प्रभावित भएका छन्,” उनले भनिन्।

बाढीले घर तथा भौतिक संरचनासँगै धेरै परिवारको खाद्य उत्पादन र आम्दानीको मुख्य स्रोतसमेत नष्ट गरेको छ। खेतहरू माटो र गेग्र्यानले पुरिएका छन्, मत्स्य पोखरी बगेका छन् भने सडक, पुल तथा बजारमा क्षति पुगेका कारण खाद्यान्न, पशु आहारा, दूध तथा कृषि सामग्रीको आपूर्ति अवरुद्ध भएको छ।

एफएओको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब १ हजार ८ सय हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेकाले झण्डै ७ हजार ७ सय मेट्रिक टन कृषि उत्पादन गुम्ने अनुमान गरिएको छ। यसले किसान परिवारको वर्तमान बालीमा मात्र नभई आगामी उत्पादन र आम्दानीका अवसरमा समेत असर पार्ने देखिएको छ।

हजारौं पशुपन्छीको क्षति

प्रभावित क्षेत्र नेपालका महत्वपूर्ण पशुपालन केन्द्रमध्ये एक हो। ११ वटा प्रभावित पालिकामा बाढीअघि करिब ३ लाख ५० हजार गाईभैंसी, भेडा र बाख्रा तथा १६ लाखभन्दा बढी कुखुरा थिए।

बेचडोलका अनुसार हजारौं पशुपन्छी हराइसकेका वा मरेका छन्। समग्र पशुधन तथा कुखुराको ५ देखि १० प्रतिशतसम्म पूर्ण रूपमा क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।

“किसान परिवारका लागि एउटा पशु गुमाउनु भनेको केवल तत्कालको खाद्य स्रोत गुमाउनु मात्र होइन, भविष्यको आम्दानी र उत्पादनको आधार पनि गुमाउनु हो,” उनले बताइन्।

बीउ, पशु आहारा र स्वास्थ्य सेवाको आवश्यकता

एफएओका अनुसार प्रभावित किसानलाई तत्काल बीउ आवश्यक छ। पशुधनका लागि पशु आहारा र पशु स्वास्थ्य सेवा पनि उत्तिकै महत्वपूर्ण रहेको बेचडोलले बताइन्।

बाढीपछि पशु रोग फैलिने जोखिम बढ्ने भएकाले खोप, उपचार र रोग निगरानीमा समेत विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

एफएओले सरकारसँग मिलेर बाली, पशुधन, मत्स्य क्षेत्र, कृषियोग्य जमिन तथा कृषि पूर्वाधारमा पुगेको वास्तविक क्षतिको विस्तृत अध्ययन गरिरहेको छ। यसका लागि स्थलगत अवलोकनसँगै उपग्रह तथा रिमोट सेन्सिङ प्रविधिको प्रयोग भइरहेको छ।

“हामी केवल बाढी कहाँसम्म पुग्यो भन्ने जान्न चाहँदैनौं, यसले के–के बगायो र किसानहरूलाई फेरि उत्पादन सुरु गर्न के आवश्यक छ भन्ने बुझ्न चाहन्छौं,” उनले भनिन्।

आगामी रोपाइँ मौसम चुक्न नदिनुपर्ने चुनौती

बेचडोलले नेपालले अहिले दुई समानान्तर चुनौती सामना गरिरहेको बताइन्। पहिलो, प्रभावित समुदायलाई सुरक्षित खानेपानी, खाद्यान्न, आश्रय र सरसफाइ सेवा उपलब्ध गराउनु हो। बाढीले ४१ वटा पुल नष्ट गर्नुका साथै सडक सञ्जालमा क्षति पुर्‍याएकाले सहायता वितरणमा समेत कठिनाइ भइरहेको छ।

दोस्रो चुनौती कृषि क्षेत्रको पुनःस्थापना हो, जसलाई समयमै अघि बढाउन आवश्यक छ।

“रोपाइँले पुनःस्थापना योजनाको प्रतीक्षा गर्दैन,” उनले स्पष्ट पारिन्।

उपग्रह तस्वीरहरूले धेरै कृषियोग्य जमिन माटो र गेग्र्यानले पुरिएको, भूमि कटान भएको तथा ठूलो मात्रामा ढुंगा–बालुवा थुप्रिएको देखाएको छ। यसले दीर्घकालीन कृषि पुनःस्थापनालाई थप जटिल बनाउने सम्भावना रहेको बेचडोलको भनाइ छ।

उनका अनुसार पुनःस्थापना केवल बीउ वितरणमा सीमित हुँदैन। कुन खेत पुनः उत्पादनयोग्य बनाउन सकिन्छ, कहाँ माटो पुनःस्थापना आवश्यक छ, सिँचाइ तथा निकास प्रणाली कसरी मर्मत गर्ने र किसानलाई अर्को बालीका लागि कसरी तयार पार्ने भन्ने विषयमा एकीकृत प्रयास आवश्यक छ।

आपत्कालीन सहायतादेखि दीर्घकालीन पुनःस्थापनासम्म एफएओको साथ

बाढी आएको करिब २४ घण्टाभित्रै एफएओले आपत्कालीन टोली परिचालन गरी प्रभावित क्षेत्रमा पशु चिकित्सकसमेत पठाएको थियो। घाइते तथा प्रभावित पशुको उपचारका लागि आवश्यक औषधि उपलब्ध गराइएको छ भने पशु रोगको जोखिम र पशु आहाराको आवश्यकताको मूल्याङ्कन जारी छ।

नेपाल सरकारको अनुरोधमा कृषि क्षेत्रमा भएको क्षति तथा नोक्सानीको विस्तृत मूल्याङ्कनको नेतृत्व पनि एफएओले गरिरहेको छ। यसले लक्षित र तथ्यमा आधारित पुनःस्थापना योजना तयार गर्न सहयोग पुग्ने एफएओको अपेक्षा छ।

बेचडोलका अनुसार एफएओले आपत्कालीन प्रतिकार्यसँगै कृषि उत्पादन पुनःस्थापनामा समानान्तर रूपमा काम गरिरहेको छ। यसअन्तर्गत सिँचाइ प्रणाली पुनःस्थापना, किसानलाई समयमै बीउ तथा कृषि उपकरण उपलब्ध गराउने, बाँचेका पशुधनलाई आहारा र स्वास्थ्य सेवा प्रदान गर्ने तथा मत्स्य क्षेत्र र स्थानीय बजार पुनःसञ्चालनमा ल्याउने प्रयास भइरहेका छन्।

“हाम्रो लक्ष्य केवल हराएका वस्तुहरू प्रतिस्थापन गर्नु मात्र होइन,” उनले भनिन्, “हामी किसान परिवारको खाद्य उत्पादन गर्ने र आम्दानी कमाउने क्षमता पुनःस्थापित गर्न चाहन्छौं। किसानले पुनः उत्पादन गर्न थालेपछि परिवारको पुनरुत्थान सुरु हुन्छ र समुदायहरू आपत्कालीन सहायतामाथिको निर्भरता कम गर्न सक्षम बन्छन्।”