सगरमाथा बेसक्याम्पमा विलासी सामान प्रयोगमा रोक लगाउन सरोकारवालाहरूकाे माग


काठमाडाैँ । सरोकारवालाहरूले सगरमाथा बेसक्याम्पमा प्रयोग गरिने विलासी सामान प्रयोगमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरूले हिमाल चढ्न जाँदा पनि आरामदायी जीवन बिताउन खोज्ने परिपाटीका कारण हिमालहरू बढी जोखिममा परेको दाबी गरेका हुन् । उनीहरूले बेसक्याम्पमा लग्जरी जीवनशैलीका लागि प्रयोग हुने सामग्री प्रयोगमा रोक लगाउन सरकारलाई सुझाव दिएका छन् ।

हिमाली पर्यटन व्यवसायी एवं पथप्रदर्शक (गाइड) दावा टासी शेर्पाले हिमाली क्षेत्रमा लग्जरी मेसिनहरुको प्रयोग गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको दोष जलवायु परिवर्तनलाई दिने गरिएको गुनासो गरे। शेर्पाले धेरै मानिसहरु हिमाल अराोहणका लागि जाँदा हिउँ पग्लिएर हिमालले थेग्न नसकेको भनेर गलत प्रचार गरिएको दाबी गरे ।

हिमाल आरोहणका लागि मौसम सधैँ अनुकुल नहुँदा कहिले काहीँ एकैदिन भार पर्ने कुरालाई मात्रै हेरेर ‘हिमालले अब धान्दैन’ भनी गलत प्रचार नगर्न आग्रह गरे । उनले आरोही बढेर नभई विलासी सामान प्रयोगका कारण हिमालका आधारशिविर जोखिममा रहेको दाबी गरे । उनले क्षणिक सुख र अर्थोपार्जनको लोभमा प्रकृति र संस्कृतिको विनाश भइरहदा पर्वतीय र सांस्कृतिक पर्यटक आवागमनमा कमि आएको बताए ।

जलवायु विज्ञ पपुलर जेन्टलले जलवायु न्यायको मुद्दा विश्वव्यापी रूपमा पेचिलो बन्दै गएकाले त्यससम्बन्धमा राष्ट्रको आफ्नै रणनीति हुनुपर्नेमा जोड दिए । उनले हिमाल संरक्षण र जलवायु अनुकुलनका कार्यक्रममा दात्तृ निकायको मात्रै भर पर्न नहुनेमा पनि जोड दिए । युएनफसिसिसिमा माउण्टेनको विषयमा चर्चा हुने गरेको भएपनि मुल मुद्दा बन्न नसकेको उल्लेख गर्दे मुल मुद्दा नबनेसम्म यसमा अन्तराष्टिय लगानी बढ्न नसक्ने तर्क गरे ।

इसिमोड प्रमुख पेमा ग्यामात्सोले सांस्कृतिक र धार्मिक रुपमा पनि माउण्टेनको निकै ठूलो महत्व रहेको उल्लेख गर्दे उहाँले हिमालको संरक्षणमा सबैले योगदान दिनुपर्ने उल्लेख गरे ।उनले हिउँ पग्लिएको विषय जलवायु परिर्वतनका कारण मात्रै नभएको भन्दै मानविय गतिविधिहरुलाई पनि पुनःमूल्यांकन गर्नुपर्नेमा जोड दिए । मानव विकासको सबै चरणमा आवश्यक कुरालाई अहिलेसम्म हिमालले दिँदै आएकाले अब मानव समुदायले हिमाल संरक्षणमा योगदान पु¥याउन आवश्यक रहेको बताए ।

पूर्वसचिव मधुकुमार मरासिनीले जलवायु परिवर्तनका असर कम गर्न सरकार र अन्तर्राष्ट्रिय समुदायको मात्रै मुख ताक्ने नभइ आफ्नो ठाउँबाट सबैले भुमिका खेल्नुपर्नेमा जोड दिए। नेपाल जलवायु परिवर्तनको उच्च जोखिम भएको मुलुक रहेको भन्दै त्यसको असर न्युनिकरणका लागि नेपालले लगानी बढाउन जरुरी रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सरकारले स्पष्ट रोडम्याप बनाउनुपर्नेमा जोड दिए ।