काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूकाे माग सरकारले सम्बोधन गर्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोटका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने बताए ।
उनले विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको बताए । उनले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरे । शिक्षकहरुको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको उनको भनाइ छ ।
“अहिले शिक्षक आन्दोलन चलेको छ । किन चलाउनुभएको मलाइ थाहा भएन । म प्रधानमन्त्री छु । म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ । हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ । दुःख पाउनुपर्दैन सडकमा गएर सुत्नै पर्दैन । आउनुस् कुराकानी गरेर त्यसलाई समाधान गरौँ । उहाँहरूले किन दुःख पाउनुभएको हो ? उहाँहरू कुराकानीका लागि आउनुहोला,” उनले भने ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रमा आन्दोलन गरेर सरकारसमक्ष आफ्ना माग राख्ने अधिकार भएपनि अनावश्यक आन्दोलन उचित नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्