काठमाडौँमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन, २४ भन्दा बढी प्रकारका परीक्षण गर्ने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्नको लागि आधुनिक घुम्ती खाद्य प्रयोगशालाको प्रयोग सुरू गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा सञ्चालन गरिएको यो प्रयोगशालाले एकै पटक २४ भन्दा बढी प्रकारका परीक्षण गर्न सक्छ । बजारबाट संकलित खाद्य नमूनाहरूको स्थलगत परीक्षण गरी तुरुन्तै नतिजा देखाउन सकिने यस प्रविधिको पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरूमा गरिएको हो ।

यसपछि महानगरपालिका र विभागको संयुक्त टोलीले राजधानीका विभिन्न स्थानमा सञ्चालन भइरहेका खाद्य व्यवसायहरूको निरीक्षण सुरू गर्ने योजना बनाएको छ । निरीक्षण टोलीमा प्रयोगशालासहित खाद्य प्राविधिक, माइक्रोवायोलोजिस्ट तथा अन्य विज्ञहरू सहभागी हुनेछन् । यस अभियानले खाद्य व्यवसायलाई अझ स्वच्छ, ताजा र गुणस्तरीय बनाउने लक्ष्य लिएको छ ।

घुम्ती प्रयोगशालामा विषादीको अवशेष परीक्षण गर्न ‘आरपीपीआर’, दूधमा चिल्लो पदार्थ मापन गर्न ‘गर्भर सेन्ट्रिफ्युज’, दूधमा मिसावटको परीक्षण गर्न ‘मिल्क एडल्टरेसन किट’, दूधको सोलिड नट फ्याट परीक्षण गर्ने ‘ल्याक्टोमिटर’, पानीमा एनोमिया तथा रेसिडुवल क्लोरिन जाँच्न ‘वाटर एडल्टरेसन किट’, पानीको पीएच जाँच्न ‘पीएच मिटर’ जस्ता उपकरणहरू राखिएको खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए ।

त्यस्तै खाद्य पदार्थको तौल जाँच्ने ‘ब्यालेन्स’, जलांश परीक्षण गर्ने ‘मोइस्चर ब्यालेन्स’, मसिनो पार्न ‘ग्राइन्डर’, एकरूपता दिन ‘स्याम्पल होमोजिनाइजर’, तेलको गुणस्तर परीक्षण गर्न ‘टीपीएम मिटर’, मिठाइमा प्रयोग हुने अखाद्य रङ परीक्षण गर्ने विशेष रसायन, र सम्पूर्ण घुलनशील ठोस (टीएसएस) जाँच्न ‘रिफ्राक्टोमिटर’ पनि प्रयोगशालामा उपलब्ध छन् ।

यसबाहेक नमूनालाई मिश्रण गर्न ‘भर्टेक्स’, अम्लता परीक्षण गर्ने ‘अटोमेटिक ब्युरेट’, तापक्रम मापन गर्ने ‘टेम्प्रेचर प्रोब’ र हानिकारक रसायनसँग काम गर्न ‘फियुम हुड च्याम्बर’ जस्ता उपकरणसमेत प्रयोगशालामा छन् । नमूनाहरू सुरक्षित राख्न रेफ्रिजेरेटर र नमूनाको सूक्ष्म हलचल विश्लेषण गर्न ‘अल्ट्रा सोनीएक्टर’ पनि प्रयोग गरिन्छ । प्रयोगशाला वातानुकूलित छ भने उपकरणहरू सञ्चालन गर्न आवश्यक ल्यापटपसमेत जडान गरिएको छ ।

महानगरपालिकाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार यसअघि संकलन गरिएका खाद्य नमूनाहरू राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ र त्यसको नतिजा आउने क्रममा छ ।

यस घुम्ती प्रयोगशालाको सञ्चालनले राजधानीमा उपभोग गरिने खाद्य वस्तुहरूको गुणस्तर तथा स्वच्छता सुधार गर्ने दिशामा एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ । प्रयोगशालाले बजारमै खाद्य परीक्षण गर्ने सुविधा दिएकोले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाना सुनिश्चित गर्न सघाउ पुग्ने विश्वास गरिएको छ ।