काठमाडाैँ । तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक मंगलबार काठमाडौँमा सम्पन्न भएको छ। नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले सदस्य राष्ट्रहरूबिच कृषि क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता सहित संयुक्त वक्तव्य जारी गरेको छ।
बैठकमा भारत, नेपाल र भुटानका कृषि मन्त्रीहरूको प्रत्यक्ष सहभागिता रहेको थियो भने बाँकी चार सदस्य राष्ट्रका मन्त्री तथा उच्च प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए। बैठकको उद्घाटन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन र विषादीको अत्यधिक प्रयोगका कारण बिमस्टेक सदस्य राष्ट्रहरूले कृषि क्षेत्रमा गम्भीर चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै यस्तो चुनौती समाधानका लागि आपसी सहकार्य अपरिहार्य रहेको धारणा राखे।
उनले भने, “कृषि क्षेत्रको दिगो विकासका लागि सदस्य राष्ट्रबिच ज्ञान, प्रविधि र संसाधनको आदानप्रदान आवश्यक छ। बिमस्टेक संरचनाले यसका लागि उपयुक्त प्लेटफर्म तयार गरेको छ।”
भारतका कृषिमन्त्री शिवराज सिंह चौहानले बिमस्टेक सदस्य राष्ट्रहरूमा कृषि, पशुपालन तथा मत्स्यपालनको विशाल सम्भावना रहेको उल्लेख गर्दै यी क्षेत्रहरूमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। “हामीले क्षेत्रीय सहकार्यलाई व्यवहारिक रुप दिनुपर्छ,” मन्त्री चौहानले भने, “अवसर प्रशस्तै छन्, अब आवश्यकता हो इच्छाशक्ति र सहकार्यको स्पष्ट खाका।”
मन्त्रीस्तरीय बैठकअघि सम्पन्न उच्च अधिकारीस्तरको बैठकले तयार पारेको संयुक्त वक्तव्यलाई आजको बैठकले अनुमोदन गरेको छ। बैठककै अवसरमा नेपाल र भारतबिच द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भएको थियो। कृषिमन्त्री रामनाथ अधिकारी र भारतीय कृषिमन्त्री शिवराज चौहानबिच भएको भेटमा नेपाली कृषिजन्य वस्तुहरूको भारत निर्यातमा सहजता ल्याउन आवश्यक सहयोगको विषयमा छलफल भएको थियो।
मन्त्री अधिकारीले भारत सरकारको सहयोग आवश्यक रहेको बताउँदै, व्यापार प्रक्रियामा देखिएका बाधाहरू हटाउन अनुरोध गरे। जवाफमा मन्त्री चौहानले समस्या समाधानका लागि थप गृहकार्य गरिने र सहजीकरणका उपायहरू अवलम्बन गरिने प्रतिबद्धता जनाए।
त्यसैगरी नेपाल र भुटानबिच पनि द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सोसँग भएको भेटमा मन्त्री अधिकारीले नेपाल र भुटानबिच याकपालन तथा उच्च पहाडी क्षेत्रको कृषि प्रणालीमा समानता रहेको बताउँदै याकको संरक्षण र प्रवर्द्धनमा सहकार्य गर्न सकिने सुझाव दिए। भुटानी मन्त्री फुन्थ्सोले पनि दुई देशबीचको कृषि सहकार्यलाई थप सशक्त बनाउन तत्परता रहेको जनाए। दुवै भेटवार्तामा सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्