त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत, माओवादी नेतृत्वप्रति थियो ठुलो गुनासो


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका हुन् । बरालले चैत १५ गते प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए ।

बरालको राजीनामा आज स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उपकुलपति बराल मेरिटोक्रेसीको आधारमा पुष्पकलम दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला नियुक्त भएका थिए ।

सत्ता परिवर्तनपछि विश्वविद्यालयका प्राध्यापक र कर्मचारीको असहयोग अनावश्यक दबाब हुने गरेको गुनासो गरिरहेका थिए ।

माओवादी नेतृत्वप्रति नै बढी गुनासो थियो

उपकुलपति नियुक्त भएपछि विभिन्न राजनीतिक दलसँग आवद्ध प्राध्यापक र कर्मचारीहरूले असहयोग गर्ने, दबाब दिने गरेको बरालले बताउने गरेका थिए तर उनको सबैभन्दा गुनासो माओवादी प्रति थियो ।

उनले निकटसँग भन्ने गरेका थिए,“ माओवादी नेतृत्वको सरकारका पालामा नियुक्त भएकाले अन्य दलका प्राध्यापक, कर्मचारी, विद्यार्थी सङ्गठनले निकै हैरान गर्छन् तर माओवादीका कोही देखा पर्दैनन् ।”

उनले पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका बेला पनि माओवादी केन्द्रबाट कुनै सहयोग नपाएको सुनाउने गर्थे ।

उनले भन्ने गरेका थिए,“माओवादीले नियुक्त गरिदिन्छ छोडिदिन्छ । अन्य दलकाले आएर हैरान पार्छन्, दबाब दिन्छन् तर माओवादीका न नेतालाई मतलब छ न प्राध्यापकलाई न विद्यार्थी सङ्गठनलाई ।”

त्रिभुवन विश्वविद्यालयमा पुगेपछि पनि उनले आफ्ठेरो पर्दा माओवादी निकटका कसैले सहयोग नगरेको गुनासो गर्ने गरेका थिए ।

उनले भन्थे,“ अरु पार्टीका मान्छे आएर खाउँला झै गर्छन् । त्यसैले यी सुरक्षा (व्यक्तिगत सुरक्षा अधिकृततिर देखाउँदै) लिएर हिँडेको छु । म होइन भन्दा पनि माओवादी नै भन्छन् तर माओवादीका मान्छेलाई मतलबै छैन ।”

उनले माओवादीहरूले आफ्ना भनिएकालाई नियुक्त गर्ने तर संरक्षण गर्न नसक्ने भन्दै टिप्पणी गर्ने गरेका थिए ।

बरालको राजीनामा फिर्ता गराउने प्रयास भएका खबरहरू सार्वजनिक भएका थिए तर कुलपति रहेका प्रधानमन्त्री ओलीले उनको राजीनामा स्वीकृत गरेका छन् । बराल गत फागुनमा त्रिविको उपकुलपति नियुक्त भएका थिए ।