काठमाडौँ । टक्सार म्यागजिनकी फोटो पत्रकार पुष्पा पाल सम्मानित भएकी छन् । नेपाल डेरी एसोसिएसनले आयोजना गरेकाे राष्ट्रिय मोही दिवस तथा राष्ट्रिय मोही सेवन अभियान २०८१ को अवसरमा बिहीवार एक कार्यक्रमकाबिच सम्मान गरिएकाे हाे ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (पशुपन्छीतर्फ) राजेन्द्र मिश्रले दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । पाललाई दुग्ध पदार्थ विविधिकरण अन्तर्गत मोहीको मौलिकता, उपयोगिता, व्यवसायिकता तथा बजारीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
मोही जस्ता परम्परागत दुग्धजन्य पदार्थको उपभोगलाई बढावा दिने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय अभियानमा पालले आफ्ना तस्बिर तथा सामग्रीमार्फत जनचेतना अभिवृद्धि र बजार विस्तारमा सघाएको भन्दै एसोसिएसनले धन्यवाद समेत व्यक्त गरेको छ।
पत्रकार पाल विगत तीन वर्षदेखि टक्मार मिडिया ग्रुपमा आवद्ध रही टक्सार म्यागजिन, टक्सारन्युज डटकम र टक्सार मल्टिमिडियामा फोटो पत्रकार तथा मल्टिमिडिया पत्रकारका रुपमा कार्यरत छिन् ।
पत्रकारितामा स्नातक पाल जनजीवन, कृषि, अर्थतन्त्र, संस्कृति, अर्थतन्त्र लगायतका विषयमा फोटो तथा मल्टिमिडिया पत्रकारितामा रूची राख्छिन् ।
कार्यक्रमको आयोजना नेपाल डेरी एसोसिएसनको नेतृत्वमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, एसोसिएसन अफ नेपाली एग्रीकल्चरल र्जालिस्ट्स (अनाज), दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, कृषि उद्यम केन्द्र, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ, कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ कपनले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
नियमित मोही सेवन, स्वस्थ र फूर्तिलो जीवन मूल नाराका साथ आजदेखि मोही दिवस मनाउन थालिएको हो । हरेक वर्ष चैत २८ गतेलाई मोही दिवसको रुपमा मनाइने अभियानको थालनी बिहीवार काठमाडौँमा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्