काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कतार एयरवेजलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उडानका लागि आग्रह गरेका छन् ।
कतारको नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक अध्यक्ष मोहम्मद फालेह अल हजरीसँग आज भएको भेटमा महानिर्देशक अधिकारीले दुबै बिमानस्थलमा कतार एयरवेजको व्यवसायिक उडानका लागि आग्रह गरेका हुन् ।
कतारमा हिजोदेखि ‘आइकाओ फेसिलिटियसन कन्फेरेन्स’ भइरहेको छ । १९२ देशका प्रतिनिधि सहभागि कन्फेरेन्स अप्रिल १८ तारिखसम्म चल्ने छ र नेपालबाट महानिर्देशिक अधिकारीले प्रतिनिधि मण्डलको नेतृत्व गरेको छन् ।
सोही कन्फेरेन्सका क्रममा कतारको नागरिक उड्ययन प्राधिकरण र कतार एयरवेजका अधिकारीसँग नेपाली प्रतिनिधि मण्डलको भेट भएको हो ।
भेटमा नेपालका तर्फबाट प्रतिनिधि मण्डलका प्रमुख महानिर्देशक अधिकारीसहित त्रिभुवन अन्तराष्ट्रि विमानस्थलका प्रमुख जगन्नाथ निरौलासहिहतको टोली सहभागि थियो ।
कतार एयरवेजले खोज्यो प्रतिहप्ता २८ उडान
छलफलका क्रममा कतार एयरवेजका प्रमुखले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा प्रतिहप्ता २८ ओटा उडानको माग गरेका थिए ।
यसअघि प्रतिहप्ता ४ वटा उडान भइरहेको र कटौती भएको उडानलाई थप गरिदिन कतार एयरवजेका प्रमुखले महानिर्देशक अधिकारीसहितको टोलीलाई आग्रह गरेको थियो ।

महानिर्देशक अधिकारीले त्रिभुवन बिमानस्थल विस्तारका कारण उडान कटौती गर्नुपरेको र अब समस्या नभएको बताएका थिए । उनले भनेका थिए,“अब उडान कटौती गर्नुपर्ने अवस्था छैन । कतार एयरवेजलाई प्रतिहप्ता २८ वटा उडानको कुनै समस्या छैन ।”
कतार एयरवेजका अधिकारीले युरोप अमेरिकाका ट्राभल एजेन्सीले नेपालको टिकट बुक गर्न खोजे पनि उडान कटौतीले समस्या भएको भनेपछि महानिर्देशक अधिकारीले उडानका लागि अब कुनै समस्या नभएको बताएका थिए ।
सोही क्रममा महानिर्देशक अधिकारीले नेपालमा कतार एयरवेजको व्यवसाय राम्रो रहेको भन्दै गौतमबुद्ध बिमानस्थल र पोखरा बिमानस्थलमा पनि उडान गर्न आग्रह गरेका थिए ।
महानिर्देशक अधिकारीले भनेका थिए,“तपाईंहरूको नेपालबाट यति राम्रो व्यवसाय छ । नेपालसँग राम्रो सम्बन्ध पनि छ । अब व्यवसायका लागि मात्रै नहेर्नुस् । गौतमबुद्ध र पोखरा बिमानस्थलमा पनि चलायमान बनाउन सहयोग गर्नुस् । गौतमबुद्ध बिमानस्थलबाट त ८० प्रतिशत श्रमिकहरूको उडान गर्न सकिन्छ ।”
बजार सर्भे गर्ने, कनेक्ट फ्लाइटको खोजी
महानिर्देशक अधिकारीको आग्रहपछि कतार एयरवेजले बजार सर्भे गर्ने भएको छ ।
भेटमा अर्को हप्ता नै क्यान र कतार एयरवेजको टोलीले भैरहवा र पोखरा बिमानस्थलको बजार सर्भे गर्ने सहमति समेत भएको महानिर्देशक अधिकारीले जानकारी दिए । उनले भने ,“काठमाडौँ फर्केपछि हामी दुबै बिमानस्थलको संयुक्त रुपमा बजार सर्भे गछौँ ।”
करार एयरवेजका प्रमुखले दुबै बिमानस्थलमा र खासगरी भैरहवा बिमानस्थलमा श्रमिकका लागि चाहिने सेवासुविधाका साथै आन्तरिक उडानको कनेक्ट आवश्यक रहेको प्रारम्भिक प्रतिक्रिया दिएका थिए ।
उनले भनेका थिए,“हामीले उडान गर्छौँ तर ल्यान्ड गरेपछि त्यहाँबाट अन्त जाने यात्रुको लागि कनेक्टिङ् फ्लाइट हुन आवश्यक हुन्छ ।”
आइकाओ परिषद सदस्यमा समर्थन गर्न कतारको आग्रह
कतारले अन्तराष्ट्रिय नागरिक उड्यन सङ्गठन(आइकाओ)को परिषद सदस्यमा समर्थन गर्न नेपाललाई आग्रह समेत गरेको छ ।
कतारले औपचारिक रूपमा समर्थनका लागि नेपाललाई आग्रह गरेको यस विषयमा भेटका क्रममा छलफल भएको महानिर्देशक अधिकारीले जानकारी दिए । उनले भने,“छलफल भएको छ समर्थनका लागि मन्त्रीपरिषदले निर्णय गर्नुपर्छ ।”
यसअघि पनि नेपालले कतारलाई समर्थन गरेको थियो । कतार अहिले पनि परिषद सदस्य हो र यसपटक पनि निरन्तरता दिन चाहन्छ ।
प्रतिक्रिया दिनुहोस्