गौतम बुद्ध विमानस्थलमा ढुक्कसँग नियमित उडानका लागि दुई अन्तराष्ट्रिय वायु सेवा कम्पनीको तीन चासो



काठमाडौँ । भैरहवामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि अन्तराष्ट्रिय वायु सेवा कम्पनीले सम्भावनासहित केही विषयमा चासो देखाएका छन् ।

नियमित उडान ढुक्कसँग गर्न एयर एसिया र कतार एयरवेजले विभिन्न विषयमा चासो देखाएका हुन् ।

उनीहरू नियमित उडानका लागि तयार भए पनि अहिलेको अवस्थामा भने उनीहरू सम्भावना देखिरहेका छैनन् । कतार एयरवेजले डोमेस्टिक एयरलाइन्ससँग कोड साझेदारी वा भैरहवा विमानस्थलबाट आन्तरिक कनेक्टिङ् फ्लाइट होस् भन्ने चाहेको देखिन्छ ।

कतारमा हिजो भएको भेटमा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीसँग कतार एयवेजका प्रमुखले भैरहवा विमानस्थलबाट आन्तरिक उडानबारे चासो राखेका थिए ।

अधिकारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको उडानको अवधारणासहित भैरहवा विमानस्थललाई चलायमान बनाउन खोजिरहेका छन् ।

यो अवधारणा सुनाउँदा कतार एयरवेजका प्रमुखले श्रमिकहरूले पाउने सेवा सुविधा र कनेक्ट फ्लाइटबारे चासो राखेका थिए । छलफल पछि बजार सर्भे गर्ने सहमति समेत भएको छ ।

एयर एसियाको चासो पर्यटक र फ्रि भिसा

एयर एसियाले भैरहवामा थाइल्यान्डबाट दैनिक दुइ उडान गर्न सम्भव रहेको बताएको छ । भेटमा सरकारका उच्च अधिकारीहरूसँग थाइल्यान्डका पर्यटकलाई फ्रि भिसाको व्यवस्था गरे दुइ उडान गर्न समस्या नदेखिएको धारणा राखेको छ ।

थाइल्याण्डबाट सन् २०२३ मा २५ हजार र सन् २०२४ मा ३० हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । थाइल्यान्डबाट

फ्रि भिसा गरे यो सङ्ख्या कैयौँ गुणा हुन सक्ने अपेक्षा यस क्षेत्रका जानकारको भनाई छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले फ्रि भिसा गर्न भने नसकिने बताए ।

उनले भने,“फ्रि भिसा कुनै पनि मुलुकलाई गर्न सकिदैन टिकटमा शुल्क घटाउन सकिन्छ ।”

सचिव सिंहका अनुसार एउटा टिकटमा कम्तिमा ३ हजार रुपैयाँसम्म सस्तो पर्न सक्ने बताए । लुम्बिनीमा पाँचतारे होटेल निर्माण गरिरहेका उद्योगी पवन गोल्याणले टिकटमा भन्दा भिसा फ्रि गर्नुपर्नेमा जोड दिए ।

उनले भने,“सकेसम्म पर्यटकलाई सहज बनाउँदा राम्रो हुन्छ । प्रशासनिक झन्झटबिना नेपाल आउने अवस्था बनोस भन्ने हो । फ्रि भिसा गर्दा राजस्व नउठ्ने हो पर्यटक आयो भने त उसले नेपालमा पर्याप्त खर्च गर्छ नी ।”

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले समेत यस विषयमा पहल गर्दै आएका छन् । बौद्ध मार्गी पर्यटकहरूका लागि लुम्बिनी उपयुक्त गन्तव्य स्थल हुने राजदूत वलीकाे विश्वास छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समेत यो विषयमा चासो राख्दै आएका छन् तर अहिलेसम्म कुनै सम्भावना देखिएको छैन ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडान हुन नसकेपछि रुपन्देही क्षेत्रका व्यवसायीले विभिन्न दबाबका कार्यक्रम गर्दै आएका छन् ।