काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ )ले नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०८६/८७ सम्म १०५ खर्ब रुपैयाँभन्दा नाघ्ने प्रक्षेपण गरेको छ। यो यथास्थितिमा वार्षिक ५ प्रतिशतका अनुपातमा स्थिर वृद्धिदर हासिल भएमा पुग्न सक्ने अनुमानित आकलन हो।
यो राष्ट्रिय योजना आयोगले सोह्रौँ योजना अवधिमा हासिल हुने राखेको लक्ष्यभन्दा केही बढी हो। राष्ट्रिय योजना आयोगले सोह्रौँ योजना अवधिमा प्रचलित मूल्यमा नेपालको अर्थतन्त्रको आकार १०३ खर्ब रुपैयाँ पुर्याइने लक्ष्य राखेको छ ।
यद्यपि सोह्रौँ योजनाले औसत ७.१ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। यदि आर्थिक वृद्धिदरको अनुपात बढेमा मुद्रा कोषको प्रक्षेपणभन्दा अर्थतन्त्रको आकार पनि बढ्ने देखिन्छ। हाल नेपालको अर्थतन्त्रको आकार अनुमानित ५७ खर्ब रुपैयाँ बराबर रहेको छ।
मुद्रा कोषका अनुसार आव २०८६/८७ मा नेपाली अर्थतन्त्रको आकार १०५ अर्ब ६२ अर्ब र अमेरिकी डलरमा ७५ अर्ब ३० करोड अमेरिकी डलर बराबर पुग्नेछ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको जनसाङ्खिक प्रक्षेपणलाई आधार मान्दा सन् २०३० मा नेपालीहरूको प्रतिव्यक्ति आय बल्ल २ हजार ४६० अमेरिकी डलर पुग्नेछ।
अर्थतन्त्रको आकार बढेसँगै आव २०८६/८७ सम्ममा सरकारको बजेटको आकार पनि बढेर २७ खर्ब ६७ अर्ब रुपैयाँबराबर पुग्ने र त्यसमध्ये राजस्वबाट २३ खर्ब ८३ अर्ब रुपैयाँ पूर्ति हुने मुद्रा कोषको प्रक्षेपण छ। प्रदेश र स्थानीय तहका लागि हाल साढे ५ खर्ब रुपैयाँ विनियोजन हुने गरेकोमा आगामी पाँच वर्षमा यो बढेर ९ खर्ब ४० अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
आन्तरिक स्रोतले नपुगेर वैदेशिक ऋण लिने क्रम बढेसँगै खुद ऋणभार कुल गार्हस्थ्य उत्पादनको ५०.५ प्रतिशत पुग्ने कोषको प्रक्षेपण छ। रकम नखुलाइए पनि अर्थतन्त्रको प्रक्षेपित आकारलाई हेर्दा राष्ट्रिय ऋण आगामी पाँच वर्षमा राष्ट्रिय ऋण ५३ खर्ब ३० अर्ब रुपैयाँभन्दा नाघ्नेछ।
मुद्रा कोषका अनुसार आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत नाघ्नेछ भने बाह्य ऋण २० प्रतिशत हाराहारी रहनेछ।
कोषका अनुसार आव २०८६/८७मा नेपाल भित्रने रेमिट्यान्स १९ खर्ब ३१ अर्ब रुपैयाँ बराबर (१३ अर्ब ७६ करोड अमेरिकी डलर) पुग्नेछ, जुन कुल गार्हस्थ्य उत्पादनको १८.३ प्रतिशत रहने उसको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्