काठमाण्डौँ । नेपाल बैंकका सञ्चालक तथा तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी कारबाहीमा परेका छन् ।
ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै पैसा उठाएको पुष्टि भएको भन्दै नेपाल राष्ट्र बैंकले पाँच लाख रुपैँया जरिबाना गर्नुका साथै राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थामा पाँच वर्षका लागि सञ्चालक हुन अयोग्य हुने ठहर गरेको छ ।
राष्ट्र बैंकले नेपाल बैंकलाई २०८२ वैशाख २ गते पत्र लेख्दै जरिबाना रकम असुलउपर गराउन गर्न निर्देशन दिएको थियो ।
निर्देशन अनुसार नेपाल बैंकको गत शुक्रबार बसेको बैठकले डा. अधिकारीसँग जरिबाना असुलउपर गरिदिने र सम्बन्धित निकायमा कारबाहीबारे जानकारी गराउने निर्णय गरेको छ ।
नेपाल बैंक श्रोतले भन्यो,“उहाँलाई (डा.अधिकारी) लाई नेपाल राष्ट्र बैँकले पाँच लाख रुपैयाँ जरिबाना गरेको छ र राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थामा ५ वर्ष सञ्चालक बन्न अयोग्य हुने गरि कारबाही गरेको छ ।”
अधिकारी तत्काली अर्थमन्त्री डा. प्रकाशशरण महतका पालामा २०८० असोजमा नेपाल बैंकको अध्यक्ष भएका थिए ।
स्वतन्त्र सञ्चालकका रुपमा रहेका अधिकारीलाई तत्कालीन अर्थमन्त्री महतको पालामा अध्यक्ष बनाइएपछि विरोध समेत भएको थियो । अध्यक्ष बनेपछि अधिकारीले नेपाल बैंकबाट ऋण लिन सहजिकरण गरिदिने भन्दै रकम लिएको आरोप लागेको थियो ।
आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन सुरु गर्यो ।
छानबिनमा परेपछि वर्तमान अर्थमन्त्री विष्णु पौडेलले अध्यक्षबाट हटाएर सञ्चालकमा सिमित गरिदिएका थिए ।
आरोपमाथि नेपाल राष्ट्र बैंकले छानबिन गरेपछि ऋणीहरूबाट रकम लिएको पुष्टि भएको भन्दै कारबाही गरेको हो । अख्तियारले अधिकारीमाथि छानबिन गरिरहहेको छ ।
प्रतिक्रिया दिनुहोस्