काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने भएको छ । मंगलवार बसेको बोर्डको बैठकले यसअघि तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको हो ।
शिक्षकहरुको आन्दोलनका कारण शिक्षकहरुले कक्षा १२ को परीक्षामा सहभागी नहुने बताएसँगै परीक्षाबारे अन्योलता सिर्जना भएको थियो । तर बोर्डले भने तोकिएकै समय र मितिमा परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।
बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष शर्माले परीक्षा केन्द्र तोकि सकिएका विद्यालयलाई समयमै परीक्षा गर्न अनुराधे गर्ने निर्णय भएको बताए । साढे ५ लाख विद्यार्थीको परीक्षा रहेकाले सबै गम्भीर बन्न र समयमै परीक्षा गर्न अनुरोध गरिएको उनले उल्लेख गरे ।
उनले भने, “१२ को परीक्षालाई हामीले जहाँ जहाँ परीक्षा केन्द्र तेकिएको छ । समयमै परीक्षा होस् भनेर हरेक विद्यालय र विद्यार्थीको अनुरोध आएको छ । हामीले आज पनि हरेक जिल्लाहरुको परीक्षा समन्वय समितिलाई विद्यालयहरुमा जहाँ जहाँ केन्द्र तोकिएको छ, केन्द्र तोकिएको ठाउँमा सञ्चालन गर्ने सन्दर्भमा उहाँहरुलाई आवश्यक तयारी गर्न र परीक्षा सञ्चालन गर्न सबैसँग पुनः अनुरोध गर्ने र विद्यार्थीको परीक्षा गम्भीर विषय हो । साढे ५ लाख विद्यार्थीको परीक्षा भएकाले यो परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने बोर्डबाट निर्णय भएको छ ।”
अध्यक्ष शर्माले हरेक जिल्लाहरुको परीक्षा समन्वय समितिलाई केन्द्र तोकिसकेका विद्यालयहरुमा आवश्यक तयारी गर्न आग्रह गरिएको बताए । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्