राष्ट्रिय लक्ष्य हासिल गर्ने ठुला आयोजनाका पूर्वाधार निर्माण गर्न ठुलो रकम आवश्यक छः मन्त्री पाैडेल


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय लक्ष्य हासिल गर्ने ठूला आयोजनाका पूर्वाधार निर्माण गर्न ठूलो रकम आवश्यक भएको बताएका छन् ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१’ पेश गर्दै उनले विश्वमा पूर्वाधार विकासको तिब्र प्रतिष्पर्धा भइरहेको बताएका हुन् ।

नेपालमा सूचना प्रविधिको बढ्दो पहुँचका कारण नागरिकको अपेक्षाअनुसार पूर्वाधार निर्माणमा आगामी दश वर्षमा एक सय खर्बभन्दा बढी रकमको आवश्यकता हुने बताए ।उनले पूर्वाधार विकासमा लाग्ने आर्थिक व्यवस्थापन गर्न लगानीको नयाँ स्रोत खोजी गर्नुपर्ने बताए ।उनले सरकारले १६ औँ योजनामा राखेको ४० हजार मेगावाट विद्युत उत्पादनका लागि ठूलो रकमको आवश्यक हुने बताए ।

औद्योगिक क्षेत्र, सडक, सिंचाई, खानेपानीलगायतका पूर्वाधार निर्माणका लागि आवश्यक लगानीका स्रोत खोज्न आवश्यक भएको उनकाे भनाइ छ ।

अर्थमन्त्री पौडेलले रोजगारी प्रवद्र्धन, दीगो आर्थिक विकास तथा पूर्वाधार परियोजनाका लागि दिगो लगानीको स्रोत व्यवस्थापनको कानूनी आधारका निर्माण गर्न ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, २०८१ ल्याउन लागिएको बताए ।