शिक्षामन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक महासंघका प्रतिनिधि


काठमाडाैँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बोलाएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन् ।

शिक्षामन्त्री पन्तले बोलाएको वार्तामा सहभागी हुन सिंहदरबारको जाने तयारी रहे पनि मन्त्रालय प्रवेश नगरी महासंघका प्रतिनिधिहरू फर्किएका हुन् ।

शुक्रवार शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गरेका थिए । यस्तै, शिक्षकहरूसँग अपरान्ह वार्ता हुने तयारी गरिएको भएको थियो । तर सरकारसँग वार्ता गर्नको लागि मन्त्रालयले २५ सदस्यीय वार्ता टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्षसहितको टोलीहरू वार्तामा सहभागी हुन गएनन् ।

यद्यपि वार्तामा सहभागी हुन गएका तीन राजनीतिक दल निकट शिक्षक संघका अध्यक्षहरू वार्ता बिनै फर्किएका छन् । राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमोदकुमार सिंहले मन्त्रालयले २५ जनाको टोली बनाएको र वार्तामा बस्ने अधिकार विशुद्ध महासङ्घलाई रहेको बताए ।उनले महासङ्घले मन्त्रालयले बनाएको टोलीमा विमति जनाएपछि वार्ता हुन नसकेको जिकिर गरे ।

महासङ्घले वार्ताको लागि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय टोलीको नामावली आफूले तयार नगरेको जनाएको छ । सिंहदरबारमा वार्ताका लागि भन्दै राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष सिंहसहित संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा र मधेसी शिक्षक फोरम लोकतान्त्रिकका अध्यक्ष विष्णु चौधरी पुगेका थिए । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै २४ दिनदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँमा आन्दोलनरत छन् ।