शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छः सांसद महत


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका सांसद महतले शिक्षकका जायज र राज्यले थेग्नसक्ने मागहरू सम्बोधन गरिनुपर्ने समेत बताएका हुन् ।

उनले विद्यालय शिक्षा ऐन टुंग्याउन अझै केही समय लाग्ने भएकाले शिक्षकहरूले सहजिकरण गरिदिनुपर्ने बताए । उनले सरकारतर्फबाट वार्ता गरेर तत्काल पूरा गर्न सकिने मागहरु पूरा गर्ने र नसकिने विषयमा शिक्षकहरूलाई सम्झाउन जरुरी रहेको बताए ।

“शिक्षकका जायज र राज्यले थेग्नसक्ने हामीले विगतमा प्रतिवद्धता गरेका विषयहरुलाई चाँडोभन्दा चाँडो टुंग्याइदिनुपर्छ । सम्बोधन गर्नुपर्छ । र यो विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो संसदबाट पास गरेर कानूनी रूप दिनुपर्छ । शिक्षक साथीहरूले विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार छ त्यसमा सघाउनुपर्छ,” उनले भने ।

फरक प्रसङ्गमा बोल्दै सांसद महतले सरकारको ढल्ने कुरामा सत्यता नरहेको बताए।  सरकार बनेदेखि नै सरकार ढल्ने कुरा भइरहेकै कारण यस विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारे ।