काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सुपरमार्केटहरूमा बिक्री वितरण हुने आयातित वस्तुहरूमा अनिवार्य रूपमा नेपाली वा अंग्रेजी भाषामा लेबल राख्न निर्देशन दिएको छ।
नेपालको संविधानको धारा ४४ र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ अनुसार, उत्पादन वा आयातित वस्तुमा सर्वसाधारणले बुझ्ने गरी लेबल राख्नुपर्ने व्यवस्था छ।
सोही प्रावधानअनुसार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले वैशाख १२ गते भाटभटेनी सुपरमार्केट प्रा.लि र बिगमार्ट प्रा.लि का प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटघाट गरी निर्देशन दिएका हुन् ।
महानिर्देशक दाहालले कम्पनीहरूले आफ्नै उत्पादनमा लेबल राख्नुका साथै अन्य आयातकर्ताबाट आएका वस्तुहरूमा पनि आयातकर्ताले राखेको लेबल भएको वस्तु मात्र बिक्री गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
उक्त निर्देशनपछि भाटभटेनी र बिगमार्टका प्रतिनिधिहरूले सोही मिति (२०८२।०१।१२) देखि आयातकर्ताले लेबल गरेको वस्तु मात्र स्टोरमा भित्र्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस्तै विश्व उपभोक्ता अधिकार दिवस २०८१ को अवसरमा आयोजना गरिएको क्याम्पसस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई विभागले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ।
प्रतियोगितामा त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघरकी छात्रा पवित्रा पौडेल प्रथम भइन्। जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वरका छात्र शरद थापा द्वितीय र रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गकी छात्रा हरिमाया भुसाल तृतीय भएका छन्।
विजेताहरूलाई क्रमशः १५,००० रुपैयाँ, १०,००० रुपैयाँ र ५,००० रुपैयाँ राशिको पुरस्कार र प्रमाणपत्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक दाहालले एक समारोहबिच हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्