डिजिटल वालेटको बैंक खाता प्रयोग गरी १७ अर्ब रूपैयाँभन्दा बढी अवैध कारोबार गर्ने २१ जना पक्राउ


काठमाडौँ । डजिटल वालेटको बैंक खाता प्रयोग गरि १७ अर्ब रुपैयाँभन्दा बढी अवैध कारोबार गर्ने २१ जनालाई केन्द्रीय अनुसन्धान ब्यूराे पक्राउ गरेको छ । रेमिट्यान्स नाममा हुण्डीको कारोबार गर्ने २१ जना मनी ट्रान्सफर सञ्चालकहरुलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण वापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा मनी म्युल परिचालन गरी हुण्डी कारोबार गरेको भन्दै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङका वीरेन्द्र प्रसाद साह, दीपेन्द्र प्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुण कुमार साह, संजीवकुमार महतो रहेका छन् ।

पर्साका प्रदीपकुमार साह, नवलपरासीका राजकमल लोनिया, भिमकुमारी गुरुङ, सप्तरीका राम विलास साह तेली, ममता कुमारी साह, पर्साका बिकर्ण जंग राणा, नवलपरासीका गणपती पाण्डे, पर्साका सलमा खातुन, सप्तरीका सुशीला कुमारी शाहु, चितवनका गोविन्द प्रसाद आचार्य र सप्तरीका शम्भु महतो रहेका छन्।

नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) मा संलग्न व्यक्ति तथा समुहले अवैध कारोबार वापत प्राप्त गरेको गैर कानुनी रकम डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) कम्पनीहरूको नेपालमा रहेको बैंक खातामा जम्मा गर्न ‘मनी म्यूल’ परिचालन गरी ठुलो रकमको प्लेसमेन्ट गर्ने गरेका थिए ।

(इमेल, फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप, टेलिग्राम वा अन्य सामाजिक सञ्जाल तथा फोन वा मोबाइल म्यासेजमार्फत छिटो र आकर्षक आम्दानी हुने प्रस्तावहरु पठाई विश्वासमा पारी बैंक खाता वा वालेटको गोप्य विवरण लिने र त्यस्ता व्यक्तिले आपराधिक कार्यबाट पाएको रकम नगदमा झिक्ने वा पुनः अन्य खातामा रकमान्तर गर्ने गर्दछन् । त्यस्ता व्यक्तिले तपाईको खाताबाट कारोबार गरेर तपाईलाई पनि अपराधमा साझेदार बनाउन सक्ने अपराधिक पद्धती मनी म्युल हो ।)

‘मनी म्युल’ परिचालन गरी ठुलो परिमाण नगदै रकम खातामा प्लेसमेन्ट गरी सो रकमलाई विभिन्न रेमिट्यान्स भुक्तानी गर्न अनुमती लिएका मनी ट्रान्सफर कम्पनीहरुले उक्त डिजिटल वालेट कम्पनीहरु मार्फत इ मनी बनाउने गरेका थिए ।

सो रकम रेमिट्यान्स वापत भुक्तानी पाउनुपर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा ट्रान्सफर गरी रेमिट्यान्स वापतको रकम हिसाब मिलान गरेको देखिएको सिआइबीले जनाएको छ ।

मनी ट्रान्सफर कम्पनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ अवैध कारोबार गरेको उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकको आदेश र निर्देशन विपरितको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम कसुर उपर अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।