वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेस गर्ने


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गर्ने निर्णय गरेको छ।

सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम वाचन गरी सार्वजनिक गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिने संवैधानिक व्यवस्था रहेको छ। यसैअनुसार मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारले यस पटक परम्परा तोड्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल नगरीकन सिधै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। संघीय संसद्को चालु अधिवेशन वैशाख १२ गतेदेखि सुरू भइसकेको छ।

संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि दुवै सदनमा छुट्टाछुट्टै छलफल हुनेछ। करिब एक साता लामो छलफलपछि वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नहरूको जवाफ दिने कार्यतालिका तय गरिएको छ। सोही दिन प्रतिनिधि सभामा बजेटको सिद्धान्त र प्राथमिकता पनि प्रस्तुत गरिनेछ, जसबारे वैशाख ३० गतेदेखि छलफल सुरू हुनेछ।