काठमाडौँ । दुधजन्य उत्पादनको आन्तरिक खपत बढाउन व्यवसायीले सरकारको साथ खोजेका छन् ।
डेरी व्यवसायीको छाता संगठन डेरी उद्योग संघले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी तर्फका नवनियुक्त सचिव डा. दीपक कुमार खराललाई शुभकामना दिने क्रममा डेरी क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।
अध्यक्ष राजकुमार दाहाल सहितको टोलीले सचिवलाई परिस्थिती थप जटिल बन्न नदिन सरकारको सहयोग खोजेको बताएका थिए । आन्तरिक बजारमा खपत हुन नसक्दा बजारको माग भन्दा बढी बजारमा आएको दुधबाट धुलो दुध, मख्खन लगायातका दुग्धजन्य पदार्थ उत्पादन गरी भण्डारण बढ्दै गएको कारण एकातर्फ किसानको नियमित भुक्तानीमा समस्या आएको अर्को तर्फ मौज्दात दुग्धजन्य पदार्थ विक्रि हुन नसक्दा स्वदेशी दुग्ध क्षेत्रमा दिनानुदिन चुनौतीहरू थपिदै जाने क्रम बढिरहेको उनीहरूको भनाइ थियो ।
सरकारले आधारभुत आवश्यक दैनिक उपभोग्य खाद्य वस्तु प्रशोधित दूध, दहि आदिमा मुल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरेजस्तै आगामी आर्थिक वर्ष २०८२⁄८३ को बजेट वक्तब्य मार्फत मख्खन, घिउ, मोहि जस्ता खाद्यवस्तुमा मुल्य अभिवृद्धि कर भ्याट छुट दिन सचिवमार्फत अनुरोध गरेका छन् ।
यसले उपभोक्ता वर्गमा थप मुल्य भार नपर्ने, किसानको भुक्तानीका लागि सहज हुने तथा अवैध तवरबाट आयातित दुग्धजन्य पदार्थहरूलाई प्रतिस्थापन गर्दै देशमा थप रोजगारी सृजना हुने व्यवसायीको दाबी छ ।
यता दुध उत्पादनमा आत्मनिर्भर भएको घोषणा भएको वर्षौ भइसक्दा पनि किसानका समस्या उल्लेख्य रूपमा समाधान भइसकेका छैनन् । पछिल्लो समय अर्थतन्त्र सुस्ताउदा यसको प्रभाव किसानको गोठसम्म पुगेको छ । बजार चलायमान नहुदा खपत बढ्ने सिजनमा समेत बजारमा उत्साहित हुनेगरि माग नबढेपछि दुग्धजन्य उत्पादन र खपतको ‘चेन’ थप बिग्रने डर व्यवसायी माथि थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्