काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना क्षेत्रभित्र सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयहरूलाई आगामी शैक्षिक सत्र २०८२ का लागि छात्रवृत्ति वितरण गर्दा समावेशी मापदण्डको पालना गर्न निर्देशन दिएको छ।
अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५ र काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम छात्रवृत्तिमा जेहेन्दार, विपन्न, असहाय, गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेश गरिनुपर्ने उल्लेख छ। विद्यालयले कक्षा १ देखि १० सम्म भर्ना भएका विद्यार्थीहरूमध्ये कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्नुपर्नेछ।
महानगरले प्रत्येक विद्यालयले छात्रवृत्ति सम्बन्धी जानकारी विद्यालयको सूचना पाटीमा टाँस गर्नुपर्ने र सम्बन्धित विद्यार्थी तथा अभिभावकबाट आवेदन संकलन गरी २०८२ सालको जेठ पहिलो हप्ताभित्र छात्रवृत्ति वितरण प्रक्रिया सम्पन्न गर्न अनुरोध गरेको छ।
छात्रवृत्ति वितरण प्रक्रिया ‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५’ को दफा ५० को उपदफा (३) मा आधारित छात्रवृत्ति छनौट समितिको निर्णय अनुसार मात्र गर्नुपर्ने जनाइएको छ। सो समितिमा सम्बन्धित वडाका वडा अध्यक्ष वा उनले तोकेको सदस्य संयोजक, विद्यालयका प्रधानाध्यापक, महानगरको शिक्षा विभागबाट सम्बन्धित विद्यालय हेर्ने निरीक्षक वा शिक्षा अधिकृत, र विद्यालय व्यवस्थापन समितिमा रहेका अभिभावक प्रतिनिधि एकजना सदस्य रहनेछन् ।
विद्यालयले छात्रवृत्ति विवरण पेश गर्दा https://datacollection.kathmandu.gov.np वेबसाइटमा उपलब्ध युजर आइडी र पासवाेर्ड प्रयोग गर्नुपर्ने महानगरले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्