रासायनिक मल खरिद प्रक्रिया छोट्याउँदै सरकार, अब एक महिनामै टुंग्याउनु पर्ने


काठमाडौँ । सरकारले रासायनिक मल खरिद प्रक्रिया छोट्याउने व्यवस्था सहित सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ।

सार्वजनिक खरिद नियमावली २०६४ को १४औं संशोधन मार्फत मल खरिद प्रक्रियामा लाग्ने समयलाई घटाइएको हो। संशोधन गरिएको नियमावली बैशाख १५ गतेको नेपाल राजपत्रमा प्रकाशित भएको छ।

नयाँ संशोधन अनुसार अब रासायनिक मल खरिदका लागि बोलपत्र आह्वान गर्दा आर्थिक प्रस्ताव खोल्ने मिति, समय र स्थान उल्लेख गरी राष्ट्रिय वा अन्तर्राष्ट्रिय बोलपत्रका हकमा कम्तीमा ७ दिनको सूचना दिई सार्वजनिक गरिनुपर्ने व्यवस्था गरिएको छ। साथै, बोलपत्रदाताले पेश गरेको प्राविधिक प्रस्ताव खोलिएको मितिदेखि ३० दिनभित्र निर्णय गरिसक्नुपर्ने बाध्यकारी प्रावधान पनि समावेश गरिएको छ।

यसअघि मल खरिद प्रक्रिया लामो हुने गरेको र त्यसका कारण समयमा मल आयात हुन नसक्दा किसानहरूलाई मल अभाव झेल्नुपरेको थियो तर अबको व्यवस्था अनुसार अधिकतम एक महिनाभित्रै मल खरिद प्रक्रिया टुंग्याउनु पर्नेछ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा नियमावलीमा यस्तो संशोधन गरिएको हो। मन्त्री अधिकारीले आफूले पद सम्हालेदेखि नै मल खरिद प्रक्रियालाई छोट्याउने प्रतिबद्धता जनाउँदै आएका थिए ।

“अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य छिट्टै परिवर्तन हुने भएकाले खरिद प्रक्रिया पनि चाँडो टुंग्याउनु पर्ने आवश्यकता थियो। नियमावलीको यो संशोधनले समयमै मल आयात गर्न सकिने र किसानले आवश्यक समयमा मल पाउने सुनिश्चितता गर्नेछ,” मन्त्री अधिकारीले भने ।