सहकारी नियमन प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त


काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख १५ गतेको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा नियुक्त भएका छन्।

मन्त्रालयका मन्त्री बलराम अधिकारीले हिजाे सचिव शर्मालाई प्राधिकरणको अध्यक्ष पद तथा गोपनियताको सपथ गराएका छन्। सोही दिनबाट उनले प्राधिकरणको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।

पदभार ग्रहण समारोहमा प्राधिकरणका सदस्यहरू गुरुप्रसाद पौडेल, मदन कोइराला, सचिव रविन ढकालसहित प्राधिकरण परिवारको उपस्थिति थियो। कार्यक्रममा अध्यक्ष शर्मालाई स्वागत गर्दै प्राधिकरणका सदस्यहरूले आगामी कार्यसम्पादनमा सहयोगको प्रतिबद्धता व्यक्त गरे।

साथै, नव नियुक्त अध्यक्ष शर्माको अध्यक्षतामा बसेको आजको पहिलो बैठकले प्राधिकरणको काम, कर्तव्य र जिम्मेवारीलाई सक्रिय रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठकले सहकारी दर्ता, नियमन र अनुगमनका मापदण्डहरू चाँडै स्वीकृत गरी लागू गर्ने कार्ययोजना अघि बढाउने पनि निर्णय गरेको छ।