ग्लोबल डेरीले गैरकानुनी सञ्चालनमा ल्याएको समस्याग्रस्त लालीगुराँस सहकारीको डेरी उद्योग लिलामीकाे तयारी



काठमाडौँ । समस्याग्रस्त घोषित ललितपुरस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित डेरी उद्योग लिलामी प्रक्रियामा जाने भएको छ ।

कपिलवस्तुको तौलिहवामा रहेको ग्लोबल डेरीले लालिगुराँस बहुउद्देश्यीय सहकारीको स्वामित्वमा ललितपुरको गोदाबरीमा रहेको रहेको डेरी उद्योग पुनः सञ्चालनमा ल्याएको टक्सारन्युजले खुलासा गरेको थियो ।

उक्त डेरी उद्योग सञ्चालन सम्झौता सहकारी ऐनविपरीत भएको ठहर गर्दै सहकारी व्यवस्थापन समितिले उद्योग लिलामी गर्ने तयारी थालेको हो ।

सम्बन्धित समितिको अनुमोदनबिना सञ्चालनमा ल्याइएको भन्दै उठेको विवादपछि लिलामी प्रकृयामा लैजाने तयारी गरिएको समितिका एक सदस्यले जानकारी दिए ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० साल फागुन २९ गते श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।

तर त्यसपछि संस्थाको स्वामित्वमा रहेको फार्म तौलिहवाको ग्लोबल डेरीले पुनः सञ्चालनमा ल्याएको विवरण सार्वजनिक भएपछि समितिले कानुनविपरीतको गतिविधि भएको आशङ्का गर्दै अनुसन्धान अघि बढाएको थियो ।

यद्यपि, ग्लोबल डेरीका सञ्चालक थानेश्वर न्यौपानेले भने कुनै गैरकानुनी प्रक्रिया नअपनाई डेरी उद्योग सञ्चालनमा ल्याइएको दाबी गर्दै आएका छन् ।

सहकारी ऐन, २०७४ अन्तर्गत समस्याग्रस्त घोषणा भइसकेपछि सो संस्थाको सम्पूर्ण सम्पत्ति, अधिकार र व्यवस्थापन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नियन्त्रणमा जाने प्रावधान रहेको हुँदा सो समितिको स्पष्ट स्वीकृति विना फार्म पुनः सञ्चालनमा ल्याइनु कानुनी दृष्टिकोणले वैध देखिदैन ।

कानुनअनुसार समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मेवारी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दिइएको छ ।

समितिले अचल सम्पत्ति, नगद, सुनचाँदी, सेयर लगानी, धितोमा राखिएका जग्गाजमिन र भवनहरू तथा स्वदेश र विदेशमा रहेका चलअचल सम्पत्तिको लगत सङ्कलन गर्नुपर्छ ।

प्रक्रियामा कानुनले तोकेको विधि अनुसार सम्पत्ति रोक्का, नियन्त्रण र लिलामी गरी प्राथमिकताको आधारमा दायित्व भुक्तानी गर्नुपर्ने व्यवस्था छ । सोही कानुन अनुसार सहकारीले कुनै किसिमको कारोबार गर्न नपाउने स्पष्ट पार्दै डेरी उद्योगको विषयमा समितिले अध्ययन गरेको थियो ।

२०५६ साल भदौ १८ गते दर्ता भई असोज १५ गतेदेखि औपचारिक कारोबार सुरु गरेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था ललितपुरको पुल्चोकमा स्थापना गरिएको थियो ।

संस्थाको पछिल्लो निलम्बित सञ्चालक समितिमा अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष हजुरी विष्ट, सचिव सुरेन्द्र पौडेल, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्यहरू भोला कुमार र कदम जोशी प्रधान थिए ।

२०६६ सालमा हिराकाजी महर्जन अध्यक्ष भएका बेला अमरदास श्रेष्ठ उपाध्यक्ष र सुरेन्द्र भण्डारी सचिव थिए। त्यसयता विश्वनाथ आचार्य, दिलबहादुर भण्डारी र तीर्थराज भट्टले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

कार्यकारी भूमिकामा विशेषगरी दिलबहादुर भण्डारी नै सक्रिय रहेका कारण सहकारीको सञ्चालन उनको एकल निर्णयमा निर्भर रहँदै आएको बताइएको छ ।

सहकारी अन्तर्गत श्री लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस राष्ट्रिय उच्च मावि तथा कलेज, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी, भैरवकुण्ड हाइड्रोपावर, डेरी फार्म एन्ड रिसर्च सेन्टर, डेरी प्रोसेसिङ उद्योग, एजुकेसन फाउन्डेसन र जनस्वास्थ्य कोअपरेटिभ लगायतका व्यवसाय सञ्चालन हुँदै आएका थिए ।