काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचाैलियामार्फत आइपिओ स्वीकृतिका लागि कमिसन मागेको आराेप लागेपछि विवाद निम्तिएकाे छ ।
आइपिओको लागि अनुमति दिन नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कमिसनको माग गर्दै बिचौलिया पठाएको केही ऊर्जा व्यवसायीले आरोप लगाएका छन् ।
यसबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था, नेपाल (इप्पान) भने आफ्नाे धारणा सार्वजनिक गरेकाे छैन ।
इप्पानका अध्यक्ष गणेश कार्की आफूले यसबारे केही नबाेलेकाे बताए । उनले भने, ”बोर्डका अध्यक्षले कमिसन माग्न पठाउनुभयो भनेर भनेको छैन यस विषयमा हाम्रा केही सदस्यले बोल्नु भएको हो ।”
अध्यक्ष कार्कीले यो आरोप आफूले नलगाएको भन्दै यस विषयमा थप कुरा गर्न चाहेनन् ।
ऊर्जा व्यवसायीकाे आराेपपछि इप्पान समेत अफ्ठेराेमा परेकाे छ । ४३ ओटा जलविद्युत् कम्पनीले १९ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको आइपिओका लागि बोर्डमा निवेदन दिएका छन् ।
बोर्डकाे खण्डन
बोर्डले अध्यक्ष श्रेष्ठविरुद्ध आएको हाइड्रोपावरको आइपिओ अनुमतिमा कमिसन मागेको आरोपलाई खण्डन गरेको छ।
बोर्डका प्रवक्ता निरञ्जय घिमिलेरे विज्ञप्ती जारी गर्दै उक्त आरोपलाई, तथ्यहीन, आधारविहीन, कपोकल्पित र नियोजित प्रचारको संज्ञा दिँदै नियामक संस्थाको छविलाई धूमिल पार्ने नियोजित प्रयास भएको दाबी गरेका हुन् ।
बोर्डका अनुसार पूँजी बजारमा सुधार देखिएसँगै केही स्वार्थ समूहहरू आत्तिएर नियामकलाई बदनाम गर्न प्रायोजित सामग्रीहरू सार्वजनिक गरिरहेका छन्।
साथै, कसैले अध्यक्ष श्रेष्ठको नाम लिएर गैरकानुनी लाभ लिएको प्रमाण भएमा तथ्यगत विवरण उपलब्ध गराउनु बोर्डले सबैलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्