जलविद्युत आयोजनाको आइपिओ स्वीकृत गर्न सेबोनले बार्गेनिङ गरिरहेको सापकोटाको आरोप


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत आयोजनासम्बन्धी आइपिओ स्वीकृत गर्न कमिसन मागिरहेको आरोप लगाएका छन् ।

बुधवारको संसद बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाएका हुन्। बोर्डले साना आयोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गरिरहेको उनको आरोप छ ।

उनले बोर्डले कमिसन मागिरहेकै कारण १००९.५२ मेगावाट क्षमताका ४३ जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको आइपिओ अनुमति २२ महिनादेखि रोकिएको उल्लेख गरे।

उनले सरकारको २८ हजार मेगावाट जलविद्युत उत्पादनको लक्ष्य र बोर्डले गरिरहेको रबैयाबिच विरोधाभास रहेको उल्लेख गर्दै तत्काल छानबिनको माग गरे ।

“धितोपप बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्‍यो । यो निकै गम्भिर र दुःखदायी कुरा हो । म यसका लागि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु । सरकारको २८ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य छ, अर्कोतिर सरकारकै निकायहरुको यो प्रकारको रबैया छ,”उनले भने ।

बोर्डले कमिसन मागिरेको विषयमा छानविन गर्न सरकारलाई रुलिङ गर्न सभामुखसँग आग्रह गरे ।