काठमाडौं । स्वतन्त्र उत्पादक संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत नियमन आयोगलाई अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन् ।
बिहीवार राजधानीमा आयोजित आयोगको छैठौं वार्षिक उत्सवमा बोल्दै उनले नियमन आयोग उर्जा क्षेत्रको व्यवस्थापन र समन्वयका लागि बनेको संस्था भएकाले यसले निजी क्षेत्र, सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।
अध्यक्ष कार्कीले पछिल्लो समयमा सरकारको कामको प्रशंसा गर्दै उर्जामन्त्रीको नेतृत्वमा सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने रोडम्याप तय भएको जानकारी दिए । उनले बंगलादेशमा विद्युत निर्यात गर्नु ठूलो उपलब्धि भएको उल्लेख गर्दै सो लक्ष्य हासिल गर्न विद्युत नियमन आयोगको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।
उनले उर्जा मन्त्रालयलाई शक्तिशाली बनाउनुपर्ने धारणा राख्दै एकद्वार नीति आवश्यक रहेको बताए । “सबै कुराहरु उर्जा मन्त्रालयमार्फत बजेटमा आउनुपर्छ,” उनले भने, “यो सरकार आएपछि ऐतिहासिक काम भएको छ । प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपाली नारा पुरा गर्न उर्जा क्षेत्र नै प्रमुख आधार हो ।”
उनका अनुसार पाँच लाखसम्मका नेपाली नागरिकलाई बिना धितो लगानी गर्न सक्ने वातावरण बनाउन सके मात्रै जनसहभागिता अर्थपूर्ण हुन्छ । हाल पाँच सयभन्दा बढी जलविद्युत कम्पनी दर्ता भइसकेको र आगामी दिनमा यो संख्या अझ बढ्ने भन्दै कार्कीले शेयरधनी परिवर्तनमा विभिन्न निकायबाट स्वीकृति लिने जटिल प्रक्रिया हटाउनुपर्ने बताए ।
विद्युत प्राधिकरणले पिपिए गर्दा आवश्यक कागजात अध्ययन गर्ने क्रम विद्युत नियमन आयोगले पनि दोहोर्याउँदा जटिलता हुने भन्दै उनले नियमन सम्बन्धी यस्ता काम एकै ठाउँबाट हुने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।
“२८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसँगै त्यसको खपत र व्यापार कसरी गर्ने भन्नेबारे सोच्ने बेला आएको छ,” उनले भने, “त्यो नियमन आयोगको प्रमुख जिम्मेवारी हो ।”
प्रतिक्रिया दिनुहोस्