काठमाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारले बजेट प्रस्तुत गर्ने समयमा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्त नहुनुले सरकारमाथि नकारात्मक असर पर्नसक्ने बताएका छन् ।
बिहीवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निमित्त गभर्नरले समस्या खडा गरेको देखिएको बताएका हुन् । उनले कसैको लहडका भरमा गभर्नर नियुुक्तिमा ढिलाइ गर्न नहुनेमा जोड दिए । उनले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा गभर्नर नियुक्तिमा ढिलाई हुँदा समग्र अर्थतन्त्रमा समस्या उत्पन्न हुनसक्ने बताए । अर्थतन्त्रलाई कमजोर हुन नदिन सरकारले तत्काल गभर्नर नियुक्ति गनुपर्ने उनको भनाइ छ ।
सांसद खतिवडाले कसैले गलत ढंगबाट सम्पत्ति आर्जन गरी विदेशमा राखेको छ भने त्यस्तो सम्पती सरकारी कोषमा ल्याउने पद्धति विकास गर्नुपर्ने बताए । उनले अख्तियारले आर्थिक घोटाला लगायतका ठूला काण्डहरूको छानबिनमा ढिलाइ गरेर साना काण्डमा छानबिन गरेर अख्तियारले राम्रो काम गरेको भन्ने भान पारिरहेको आरोप लगाए।
उनले सम्पत्ति छानबिन वा अनुसन्धान गर्ने सम्बन्धित निकायहरु भएकाले सबै क्षेत्रमा अख्तियार सर्वेसर्वा बन्न नहुने बताए ।
सांसद खतिवडाले नीति तथा कार्यक्रम नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त कार्यक्रम भएकाले काँग्रेसले समर्थन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्