विद्युत् क्षेत्रलाई पारदर्शी,प्रतिस्पर्धात्मक र दिगो बनाउन आयोगको भूमिका अझै सशक्त बनाउँछौँ :अध्यक्ष धिताल


काठमाडौँ । विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले उपभोक्ताको हक अधिकार संरक्षण, निजी क्षेत्रको सहभागिता प्रोत्साहन तथा प्रवर्धन गर्दै निष्पक्ष महसुल निर्धारण गर्नु आयोगको प्राथमिकता भएको बताएका छन् ।

आयोगको छैटाैँ वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष धितालले नेपालको विद्युत् क्षेत्रलाई पारदर्शी, प्रतिस्पर्धात्मक, र दिगो बनाउन विद्युत् नियमन आयोगको भूमिका अझै सशक्त हुनुपर्ने आवश्यक रहेको सरोकारवालाहरूको सुझावलाई मनन गर्ने बताए ।

उनले नेपालमा उपलब्ध जलविद्युत् तथा सौर्य लगायत प्राकृतिक स्रोतको प्रभावकारी उपयोगमार्फत ऊर्जा उत्पादन गरी राज्यको श्रीवृद्धि गर्न स्पष्ट नीति एवम् कानुनका अतिरिक्त नियामक निकायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै अध्यक्ष धितालले उक्त भूमिका निर्वाह गर्न विद्युत् नियमन आयोग अग्रसर रहेको बताए ।

उनले भने,“हामी नेपालको विद्युत् क्षेत्रको दिगो विकासका लागि पारदर्शी, स्वतन्त्र, पूर्वानुमान योग्य, निरन्तर र उत्तरदायी नियमनका लागि प्रतिबद्धता ब्यक्त गर्दछाैँ साथै यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछौँ ।”

अध्यक्ष धितालले विवाद समाधान विनियमावली २०८२ आयोग कार्यान्वयनमा ल्याइएको जानकारी दिँदै यसबाट विद्युत् नियमन आयोगद्वारा न्यायिक प्रकृया अपनाएर विद्युत् सम्बन्धी विवादको छिटो छरितो र न्यायसंगत निरुपणका निमित्त सहज भएको उल्लेख गरे ।

सार्वजनिक सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन प्रविधिमैत्री पूर्वाधारहरू निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको अध्यक्ष धितालको भनई छ ।

उनले भने,“ सार्वजनिक सेवा प्रदायक र सेवाग्राहीबिच हुने सूचना आदान प्रदानलाई थप व्यवस्थित तथा सरल बनाउन, कागजरहित नियमनको अवधारणा स्थापित गर्ने उद्देश्यका साथ आयोगद्वारा प्रविधिमैत्री पूर्वाधारहरू निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।”

आयोगको पाँच बर्षे मार्गचित्र कार्यान्वयनको क्रममा रहेको भन्दै अध्यक्ष धितालले चालु आर्थिक वर्षमा ४ वटा नियामकीय उपकरण तर्जुमा तथा जारी गरेको तथा एउटा विद्युत् महसुल पुनरावलोकन सम्बन्धी निर्णय गरेको जानकारी दिए ।

यसबिचमा चारओटा अवधारणा तथा छलफल पत्र जारी गरिएको उनको भनाई छ ।

२५ वटा प्राथमिक तथा हकप्रद सेयर निष्काशनमा पूर्वस्वीकृती, १९ वटा सेयर संरचनामा परिवर्तनको स्वीकृती, ३६ वटा विद्युत् खरिद बिक्रिदर निर्धारण तथा विद्युत् खरिद बिक्रि सम्झौतामा सहमति दिइएको अध्यक्ष धितालले जानकारी दिए ।

यस्तै अध्यक्ष धितालले २६ वटा विद्युत् कम्पनीको विद्युत् खरिद बिक्रि सम्झौताको संशोधनमा सहमति, २ वटा विद्युत् कम्पनीको स्वामित्व हस्तान्तरण, आयोजना प्राप्ति र ग्रहणमा सहमति, २५ वटा विद्युत् कम्पनीको शेयर खरिदबिक्रिको सहमति दिइएको विवरण सुनाए ।