काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको फिनटेक विकास गर्ने उद्देश्यसहित आयोजित ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना गरिएको यो महोत्सव गत बिहीबार काठमाडौँमा सम्पन्न भएको हो।
आयोजक संस्थाहरूका अनुसार उक्त कार्यक्रममा नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय तथा फिनटेक नेतृत्व समेटिएका करिब ४०० प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाल फिनटेक फेस्टिवलको अवधारणा काठमाडौँ फिनटेकका संस्थापक संजिव सुव्बाले ल्याएका हुन्। उनले नेपाललाई विश्व फिनटेक नक्शामा स्थापित गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको बताए। दक्षिण एशियामा भारतपछि नेपालले यति ठूलो राष्ट्रिय फिनटेक कार्यक्रम आयोजना गरेको दोस्रो मुलुक बनेको पनि उनले उल्लेख गरे।
कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल, र नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले मन्तव्य दिएका थिए।
नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीको विकासमा पुर्याएको योगदानको कदर गर्दै फिनटेक अलायन्स नेपाल र काठमाडौँ फिनटेकद्वारा संयुक्त सम्मान गरिएको थियो।
सिंगापुरस्थित डीबीएस बैंकका पूर्व चिफ इनोभेशन अफिसर नील क्रसले डिजिटल तथा सांस्कृतिक रूपान्तरणबारे मन्तव्य दिएका थिए। त्यस्तै, यूनियनपे साउथ एशिया ब्रान्चका प्रमुख बिङहान हूले किनोट स्पिच दिएका थिए भने उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडसँग कार्ड इशुएन्ससम्बन्धी सम्झौता पनि गरेका थिए।
कार्यक्रममा डिजिटल बैंकिङ, साझेदारी रणनीति, क्यूआर प्रणालीपछिको फिनटेक विकास तथा वित्तीय सेवामा कृत्रिम बौद्धिकता (एआई) को भूमिकासम्बन्धी प्यानल छलफलहरू पनि आयोजित भएका थिए ।
भारतको सूर्योदय स्मल फाइनान्स बैंकका बोर्ड सदस्य तथा कोटक महिन्द्रा बैंकका पूर्व सीडीयो दीपक शर्माले भारतको डिजिटल बैंकिङ विकासबारे प्रस्तुति दिएका थिए।
कार्यक्रमलाई एनएमबी बैंकका सीईओ गोविन्द घिमिरे, नबिल बैंकका कार्यवाहक प्रमुख मनोज घिमिरे, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल र ग्लोबल आईएमई बैंकका डिपुटी प्रमुख सुमन पोखरेलले सम्बोधन गरेका थिए।
फेस्टिवलमा प्रविधि प्रदर्शनी बुथहरू, नवप्रवर्तनहरूका लाइभ डेमो तथा नेटवर्किङ सत्रहरू पनि सञ्चालन गरिएको थियो। यसले सहभागीहरूलाई सहकार्य र नवप्रवर्तनमा आपसी जडान गर्ने प्लेटफर्म उपलब्ध गराएको आयोजकहरूको भनाइ छ।
कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले मुख्य प्रायोजन गरेको थियो भने ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम र पीएसपी एसोसिएसनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहेको थियो।
प्रतिक्रिया दिनुहोस्