आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले सूचना प्रविधि क्षेत्रमा सहुलियत दिने विषय समेट्नुपर्छ । जसमा कर छुट लगायत कति कर्मचारी राख्दा कति छुट दिने भनेर सरकारले नीति बनाउनुपर्छ । सूचना प्रविधि क्षेत्रलाई सरकारले आकर्षित बनाउनुपर्ने र सरकारले सहयोग गरिरहेको छ भन्ने देखाउन विभिन्न योजना ल्याउनुपर्छ ।
सरकारले सूचना प्रविधिको पूर्वाधारमा लगानी गरेर सबै सेवा सुविधा एकैठाउँमा दिने वातावरण बनाउनुपर्छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आईटी पार्क त बन्य तर त्यसको प्रयोग भएको छैन । पूर्वाधार बनाउने तर त्यसमा जानसक्ने वातावरण सरकारले बनाउनुपर्छ । सरकारले सबै काठमाडौँमा मात्र गर्नुपर्छ भन्ने होइन तर त्यहाँ जान सक्ने वातावरण बनाउनुपर्यो ।
अबको १० वर्षलाई सरकारले आईटी दशक बनाउने भने भन्छ तर फेरी सकेसम्म नेपालको सफ्टवेयर सरकार आफैँले बनाउने पनि भन्छ । यसरी सूचना प्रविधि क्षेत्रको विकास हुँदैन । अहिले सूचना प्रविधि क्षेत्रको मुख्य समस्या भनेको नै जनशक्तिको हो । विश्वविद्याय र कम्पनीहरुबिच समन्वय गरेर त्यसको अन्तर पुर्ति गर्न सक्ने गरी बजेट आउनुपर्छ । सरकारले पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादन गर्न सक्नेगरी बजेट आउनुपर्छ ।
नवप्रवर्तकहरुलाई फाइनान्सिङ गर्न, फण्डिङ गर्न, बाहिरबाट लगानी ल्याउन सहज वातावरण बनाउने, आम्दानी गरिरहेकाहरुलाई कर छुट लगायतका कुराहरुलाई केन्द्रित भएर बजेट आउने हो भने आईटी क्षेत्रमा सुधार हुन्छ । आईटी क्षेत्रलाई यति बजेट आउनुपर्छ भन्ने होइन सरकारीले यसरी सुविधा दिएर सहज बनाएको छ भन्ने हुनुपर्यो । सरकारले ताली बजाउने खालको बजेट नभई कार्यान्वयनमा केन्द्रित हुने गरी बजेट आउनुपर्छ ।
इन्टर्नसीप गराउने कम्पनीहरुलाई सरकारले सहुलियत दिने व्यवस्था गर्नुपर्छ । जस्तो उदाहरणको लागि मैले वार्षिक २० जना इन्र्टनमा राखिरहेको छु । सरकारले २० होइन ४० जना राख २० जनाको खर्च म दिन्छु भनेर भन्न सक्नुपर्छ । त्यस्तो कार्यक्रम आयो भने जनशक्ति पनि धेरै हुन्छ । इन्र्टनसीपको लागि सरकारले फण्डिङ गर्ने हो भने धेरै राम्रो हुन्छ । यस्तो भयो भने विदेश पलायन हुने पनि कम हुन्छन् । यहिँ काम गर्न सक्छन् । सूचना प्रविधि क्षेत्रलाई सरकारले सहयोग गर्ने गरी बजेट ल्याउनुपर्यो ।
सरकारले कर, जनशक्ति, लगानी, कर्जामा केही विशेष छुट दियो भने आईटी क्षेत्रलाई सहज हुन्छ । सरकारले एक्विजिसन गर्न सहयोग गरोस् । जसले विश्वका विभिन्न देशहरुमा गएर पनि हाम्रो उत्पादनहरु देखाउन सकियोस् ।
प्रतिक्रिया दिनुहोस्