प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयकमाथि अन्तिम छलफल, अर्थमन्त्री पौडेलले जवाफ दिने


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)’ उठेका जिज्ञासाहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार, आज बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री पौडेलको जवाफ समावेश गरिएको छ । गत वैशाख ३० गतेदेखि विधेयकमाथि प्रतिनिधिसभामा छलफल जारी थियो ।

दलीय आधारमा छलफलको समयसीमा निर्धारण गर्दै कार्यव्यवस्था परामर्श समितिले तयारी मिलाएपछि आज सांसदहरूले धारणा राख्ने क्रम सकिनेछ । त्यसपछि अर्थमन्त्री पौडेलले सांसदहरूले उठाएका जिज्ञासा, सुझाव र आलोचनाको जवाफ दिने छन् ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा बस्ने बैठकमा विधेयकमाथि विस्तृत छलफलपछि आवश्यक निर्णय गरिनेछ । विनियोजन विधेयकमा समेटिएका नीति तथा प्राथमिकतासम्बन्धी सांसदहरूको धारणा महत्वपूर्ण रहँदै आएको छ ।