आजदेखि सुरू हुँदै ‘सगरमाथा संवाद’,जलवायु संकटबारे विश्व समुदायसँग छलफल हुने


काठमाडौँ । जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्यबारे विश्व समुदायसँग गहन छलफल गर्न नेपाल सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ। परराष्ट्र मन्त्रालयको संयोजनमा सुरु हुने यो कार्यक्रम जेठ ४ गतेसम्म सञ्चालन हुनेछ।

संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय गरिएको छ । परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाका अनुसार सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब १७५ नेपाली प्रतिनिधिको सहभागिता रहनेछ ।

चीन, भारतलगायत १२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आइपुगेका छन् भने अन्य देशका विशिष्ट पाहुना आउने क्रम जारी छ ।

उद्घाटनमा संयुक्त राष्ट्रसंघ महासचिवको सन्देश
कार्यक्रमको उद्घाटन सत्रमा सगरमाथा संवादसम्बन्धी चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिनेछ । भारत र चीनका प्रतिनिधिमण्डल प्रमुख, कोप-२९ का अध्यक्ष तथा अजरबैजान राष्ट्रपतिको जलवायु सम्बन्धी प्रतिनिधिले उद्घाटन समारोहमा सम्बोधन गर्नेछन् । संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसको विशेष श्रव्यदृश्य सन्देश पनि प्रस्तुत गरिने सचिवालयले जनाएको छ ।

प्लेनरी र समानान्तर सत्रमार्फत बहस
उद्घाटनपछि ‘प्लेनरी सेसन’ सञ्चालन हुनेछ, जहाँ सहभागी राष्ट्र, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरूले आफ्ना धारणा राख्नेछन् ।

त्यसपछि समानान्तर सत्रहरू सुरु हुने छन्, जसमा जलवायु परिवर्तन, पर्वतीय समस्या समाधान, संरक्षणका असल अभ्यास, र विश्वस्तरीय समाधान उपायहरूबारे गहन छलफल हुनेछ ।

कार्यक्रममा सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंक लगायतका ६१ अन्तर्राष्ट्रिय तथा स्वदेशी सङ्गठन र संस्थाले सहभागिता जनाउनेछन्।

उच्चस्तरीय समिति र व्यवस्थापन
संवाद सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। सचिवालयको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले सम्हाल्नु भएको छ।

सगरमाथा संवादको ‘काठमाडौँ घोषणा’
तेस्रो तथा अन्तिम दिन, विदेशी पाहुनालाई पर्वतीय उडानमार्फत हिमाल अवलोकन गराउने कार्यक्रम रहेको छ। संवादको समापनमा ‘काठमाडौँ घोषणा’ सार्वजनिक गरिनेछ, जसमा नेपालले जलवायु संकटबारे प्रस्तुत गर्ने धारणा र विश्वव्यापी सहकार्यको सन्देश रहनेछ ।

संवादले नेपालले संरक्षणमा गरेका असल अभ्यास विश्व समुदायमा प्रवर्द्धन गर्नुका साथै जलवायु संकट समाधानमा अन्य देशका अनुभव र उपायहरूबाट सिक्ने अवसर दिने विश्वास लिइएको छ । संयुक्त राष्ट्रसंघले घोषणा गरेको २०२५ अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको सन्दर्भमा हिमालसम्बन्धी विषयलाई विशेष प्राथमिकता दिइनेछ ।

दुई वर्षमा एकपटक हुने
सगरमाथा संवादलाई दुई वर्षमा एकपटक आयोजना गर्ने सरकारको निर्णय छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको यो संवाद मानवताको साझा हित र सामूहिक कल्याणका लागि विश्वस्तरीय मञ्चको रूपमा स्थापित गरिने लक्ष्य लिएको छ ।