काठमाडौँ । साना तथा मझौला उद्योग (एसएमई)को प्राथमिक सेयर निष्कासनका लागि नियमावली कार्यान्वयनमा आएपछि दोस्रो बजार संरचना सञ्चालनका लागि विनियमावलीको मस्यौदा नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिमा पुगेको छ ।
सञ्चालक समितिमा एकचरण छलफल भए पनि निर्णय भने हुन बाँकी छ ।
नियमावलीमा एसएमई कम्पनीहरूलाई कसरी सूचीकरण गराउने, मूल्य कसरी निर्धारण गर्ने सर्किट ब्रेकर कतिमा लगाउने लगायतका कुराहरू समावेश हुन्छन् ।
बोर्डको निर्देशन अनुसार विनियमावलीको मस्यौदा तयार गरेर सञ्चालक सिमितिमा एक चरण छलफल भइसकेकाे नेप्सेले जनाएकाे छ । विनियमावली तयार भएपनि सञ्चालक समितिको बैठकले स्वीकृत गर्न बाँकी रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।
प्रवक्ता पराजुलीले भने्, “हामीले विनियमावली बनाइसकेका छौँ, सञ्चालक समितिको बैठकमा पहिलो चरणमा छलफल भयो, अर्को बैठकमा दोस्रो चरणको छलफल हुन्छ ।”
नेप्सेको सञ्चालक समितिको बैठकले पारित गरेपछि अन्तिम स्वीकृतिका लागि विनियमावली धितोपत्र बोर्डमा पठाइने छ ।
नेप्सेले तयार गरेको विनियमावली बोर्डले स्वीकृत गरेपछि एसएमई प्लेटर्फम पूर्णरुपमा सञ्चालनमा आउने छ ।
हालसम्म नेप्सेमा सबैखाले सानादेखि ठुला कम्पनीहरुको एकै ठाउँ कारोबार हुँदै आएको छ ।
एसएमई प्लेटर्फमको विनियमावली तयार भएर धितोपत्र बोर्डले स्वीकृत गरेर लागूहुने मिति तोकेपछि पूर्णरुपमा कार्यान्वयनमा आउने छ ।
एसएमई प्लेटर्फमको कारोबार अहिले भइरहेको प्रणाली मार्फत नै हुने नेप्सेले जनाएको छ ।
“बाहिर बुझेजस्तो एसएमई प्लेटर्फमको लागि छुट्टै प्रणाली हुने होइन,” नेप्सेका प्रवक्ता पराजुलीले भने, “प्रणाली उहि सुविधा मात्र थपिने हो, नेप्सेको वेवसाइटमा एसएमई भनेर राखिन्छ, त्यहाँ क्लिक गरेपछि नयाँ ट्याब खुल्छ र एसएमई कम्पनीहरूको कारोबार हेर्न सकिन्छ ।”
दोस्रो बजार कारोबारको लागि मेनबोर्डका कम्पनीहरू टिएमएस मार्फत कारोबार भइरहेका छन् भने अब आउने साना कम्पनी एसएमई मार्फत कारोबार हुने पराजुलीले बताए ।
यस्तो हुनेछ बजार संरचना
नेप्सेमा धितोपत्र सूचिकरण गराउन चाहने सङ्गठित संस्थाले प्रचलित कानुन अनुसार धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरि धितोपत्र निष्काशन गरेको हुनुपर्ने प्रस्तावित विनियमावली मस्याैदामा छ ।
बोनस सेयर, हकप्रद सेयर तथा थप सेयर निष्काशनको गरेमा पनि नेप्सेमा सूचीकरण गराउन पर्नेछ ।
सूचीकरणको निवेदन पेश गर्दा धितोपत्र खरिद, बिक्री, हक हस्तान्तरण वा नामसारी गर्न नपाउने गरी लकइन गरिएको भए त्यस्तो लकइन अवधिसमेत उल्लेख गर्नुपर्नेछ ।
कारोबार समय र मूल्य निर्धारण
प्रस्तावित विनियमावलीमा धितोपत्र दोस्रो बजारमा प्रारम्भिक कारोबार सत्र विहान १०ः३० देखि ११ बजेसम्म प्रस्ताव गरिएको छ । निरन्तर कारोबार सत्र भने ११ बजेदेखि अपरान्ह ३ बजेसम्म प्रस्ताव गरिएको छ ।
अपरान्ह २ः४५ देखि ३ बजेसम्म काम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने छ भने यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबारलाई अन्तिम मूल्य मानिनेछ ।
मूल्य परिर्वतन सीमा
प्राम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको मूल्यको ५ प्रतिशत घटि वा बढी मूल्य सीमाभित्र रहने छ ।
निरन्तर कारोबार सत्रमा पहिलो कारोबार गर्दाको प्रारम्भिक सत्रमा कायम भएको मूल्यको २ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रहने गरि आदेश प्रविष्ट गर्नुपर्ने मस्यौदामा उल्लेख गरिएको छ ।
प्रारम्भिक कारोबार सत्रमा कारोबार नभएका धितोपत्र हकमा निरन्तर सत्रको सुरु मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशत घटी वा बढिी मूल्य सीमाभित्र रहेर धितोपत्र दलालले आदेश प्रविष्ट गर्नुपर्नेै व्यवस्था गरिएको छ ।
न्यूनतम कारोबार ५०० कित्ता
आइपिओमा जस्तै धितोपत्र दोस्रो बजारमा पनि ग्राहकले न्यूनतम ५०० कित्ता सेयर खरिद गर्नु पर्नेछ ।
एसएमई कम्पनीका सेयर ५०० कित्ता भन्दा कम परिमाणको सेयर अडलट हुनेछ ।
यस्तो सेयरको कारोबारलाई अडलट कारोबारको रुपमा विनियमावलीले परिभाषित गरेको छ ।
न्यूनतम इकाई वा सो भन्दा बढी सेयर स्वामित्व भएमा अडलट बनाई बिक्री गर्न नपाईने विनियमावलीमा व्यवस्था गरिएको ।
साथै यस्ता कम्पनीको सेयरको बल्क कारोबारको लागि नेप्सेले प्रस्ताव गरेको छ । अर्थात् सूचिकृत कुनै पनि एसएमई कम्पनीको चुक्ता पुँजीको २ प्रतिशत वा २५ लाख रुपैयाँ मध्ये जुन बढी हुन्छ सो बमोजिम ग्राहकले नेप्सेको पूर्वस्वीकृति लिई कारोबार गर्न सक्नेछन् ।
सर्किट सम्बन्धी व्यवस्था
निरन्तर कारोबार शुरु भएको १ घण्टा भित्र नेप्से एसएमई परिसूचक ४ प्रतितले घटी वा बढि भएमा २० मिनेटका लागि सर्किट ब्रेकर लाग्नेछ भने निरन्तर कारोबार सुरु भएको २ घण्टा भित्र एसएमई परिसूचक ६ प्रतिशतले घटी वा बढी भएमा ४० मिनेटका लागि सर्किट ब्रेकर लाग्नेछ ।
त्यस्तै निरन्त कारोबार सुरु भएको कुनैपनि समयमा परिसूचक ८ प्रतिशतले घटी वा बडी भएमा उक्त दिनको कारोबार नै बन्द हुने विनियमावलीको मस्यौदामा नेप्सेले प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस्