राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भर खरिदमा अनियमितता, पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडाैँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सन् २०१९ मा गरिएको सर्भर खरिद प्रक्रियामा अनियमितता भएको भन्दै तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, सहायक निर्देशक रमेश पोख्रेलसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

आर्थिक वर्ष २०७५/७६ मा आरआइएससी र एचसीआइ सर्भर आपूर्ति, जडान तथा सञ्चालन सम्बन्धी योजना अन्तर्गत गरिएको खरिद प्रक्रियामा मिलेमतो गरी सरकारी स्रोतमा हानी पुर्‍याएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा सर्भर खरिद गर्दा प्रस्तुत गरिएको प्राविधिक विवरण अनलाइनमा उपलब्ध ‘डेटासिट’सँग नमिलेको, खरिद मूल्य बजार मूल्यभन्दा बढी भएको र सम्झौताअनुसार प्रदान गर्नुपर्ने ‘वारन्टी र अनसाइट सेवा’ दिइनसक्दा पनि रकम भुक्तानी गरिएको पाइएको हो।

म्याक्स इन्टरनेशनल कम्पनीले पेश गरेको बिलअनुसार प्रशिक्षण तथा एकपटकको जडान र कन्फिगरेसन शीर्षकमा रु.२ करोड ६५ लाख र तीन वर्षको मर्मत सेवा शीर्षकमा रु.३ करोड १४ लाख भुक्तानी भएको देखिएको छ तर सो कार्यहरू आवश्यक रूपमा भएको प्रमाण नपाईकनै रकम भुक्तानी गरिएको प्रमाणित भएको अख्तियारको दाबी छ।

यसरी मिलेमतोमा गैरकानूनी लाभ लिई दिई सरकारी संस्थालाई रु.५ करोड ७९ लाख बराबरको आर्थिक हानि पुर्‍याइएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरूमाथि कारबाहीको मागसहित आरोपपत्र दायर गरेको हो।