काठमाडौँ । साधारण सेयरमा देखिएको वेथिति हटाउन नेपाल धितोपत्र बोर्ड (सेबाेन) आक्रमक देखिएको छ ।
विगतमा कमजोर कम्पनीलाई समेत आइपिओ निष्कासन गर्न दिएको भन्दै आरोप खेपिरहेको बोर्डले नेटवर्थ ९० भन्दा कम भएका १४ कम्पनीलाई सूचीबाटै हटाएको छ ।
सार्वजनिक लेखासमितिले २०८० पुस १३ गते प्रति सेयर नेटवर्थ ९० वा सोभन्दा कम भएका कम्पनीको आइपिओ निष्कासन गर्न नदिन बोर्डलाई निर्देशन दिएको थियो । निर्देशन अनुसार बोर्डले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई सूचीबाटै हटाएको हो ।
सूचीबाट हट्नेमा सबैभन्दा धेरै जलविद्युत् कम्पनी छन् । ऊर्जा प्रवर्धकहरूले सेबोनले झण्डै २३ महिनादेखी आइपिओ रोकेर कमिसन मागेको आरोप लगाएका थिए । यसको प्रतिवाद गर्दै बोर्डले पुँजीबजारमा हुन लागेको सुधारसँग अत्तालिएको दाबी गरेको थियो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीको बेनी हाइड्रोपावर प्रोजेक्टसमेत आइपिओको सूचीबाट हटेको छ ।
बोर्डमा आइपिओको पाइपलाइनमा रहेको बेनी हाइड्रोपावर नेटवर्थको ८४ रुपैयाँ मात्रै थियो ।
१८.२३ मेगावाटको बेनी हाइड्रोको सेयर निष्कासन गर्न भन्दै सेबोनमा २०८० भदौ ६ गते आवेदन परेको थियो तर बोर्डले सूचीबाटै हटाइदिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीको बेनी हाइड्रोपावर प्रोजेक्टसमेत आइपिओको सूचीबाट हटेको छ ।
यस्तै सूचीबाट हट्ने हाइड्रो कम्पनीमा सानिमा हाइड्रो पावर, लाफिङ बुद्ध पावर नेपाल,पुवा खोला–वन हाइड्रोपावर लिमिटेड, रिचेट जलविद्युत कम्पनी छन् ।
यस्तै युनिक हाइडल कम्पनी, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा होटल एण्ड सुइट्स,एपेक्स होस्पिटालिटी लिमिटेड, अर्चिड होल्डिङ्स, एक्कर्ड फर्मास्युटिकल्स पनि आइपिओको सूचीबाट हटेका छन् ।
सोपान फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन नेटवर्क र प्रभु हेलिकोप्टर कम्पनीलाई आइपिओको सूचीबाट हटाइएको बोर्डले जनाएको छ । बोर्डले पाइपलाइबाट हटाएका कम्पनीहरूले प्रतिसेयर नेटवर्थ ९० पुर्याएर फेरि निवेदन दिन सक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्