ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भयो, सरकारले निगरानी गरोस्ः सांसद काेइराला


काठमाडाैँ । नेपाली काँग्रेसकी सांसद रमा कोइरालाले ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एलपी ग्याँस सिलिण्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाएकी हुन् । उनले एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरू बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिण्डर साट्न लगाइ ठग्ने काम गरिएको बताएन् ।

उनले सिलिण्डर साट्दा पाँच सयदेखि एक हजार रुपैयाँसम्म लिने गरेको भन्दै अनुगमन गर्न आग्रह गरिन् । “एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा छन् । तर कहिले कहिले कम्पनीअनुसार ग्याँस अभाव गरिन्छ । ग्याँसको अभाव भएको लामो समयपछि उपभोक्ताले ग्याँस लिन जाँदा यो कम्पनीको ग्याँस छैन, सिलिण्डर साट्नुस् भनिन्छ । सिलिण्डर साट्न कसैले पाँच सय, कसैले हजार लिएर बाध्यतामा पारेर उपभोक्ताहरूले सिलिण्डर साट्छन्,” उनले भनिन् ।