काठमाडाैँ । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले सन् २०२४ मा प्राप्त शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले वृद्धि भएको जनाएको छ।
इकाइले हालै सार्वजनिक गरेको चौथो संस्करणको न्यूजलेटरमार्फत उक्त विवरण सार्वजनिक गरिएको हो।
मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूबाट प्राप्त यस्ता प्रतिवेदन सन् २०२४ मा ९ हजार ३०४ पुगेका छन्, जुन सन् २०२३ को तुलनामा उल्लेखनीय वृद्धि हो।
तीमध्ये १ हजार ८९४ प्रतिवेदनहरूको विश्लेषण गरिएको थियो। विश्लेषणपछि १ हजार ०८६ प्रतिवेदन कानुनी कार्यान्वयन गर्ने निकायहरू तथा नियामक संस्थाहरूमा सिफारिस गरिएको छ, भने बाँकी ८०८ प्रतिवेदन थप जानकारी पाएपछि पुनः विश्लेषण गर्नेगरी अभिलेखीकरणमा राखिएको छ।
त्यस्तै सीमा कारोबार विवरणको संख्यामा पनि वृद्धिको विवरण उल्लेख गरिएको छ। सन् २०२३ मा १७ लाख ८३ हजार १८३ विवरण प्राप्त भएका थिए भने सन् २०२४ मा यो संख्या बढेर १९ लाख ७२ हजार ८५५ पुगेको हो।
इकाइको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्था, अनुसन्धानकर्ता तथा नियामक निकायहरूको संख्या पनि सन् २०२४ को अन्त्यसम्ममा बढेर १ हजार ९०५ पुगेको छ।
तथ्यांकअनुसार, सन् २०२३ को तुलनामा २०२४ मा स्टक ब्रोकर र विकास बैंकहरू सन्दिग्ध कारोबारको संख्या र रकम दुवैमा अग्रस्थानमा देखिएका छन् भने सहकारी क्षेत्रमा कारोबारको संख्या बढे पनि रकममा भने कमी आएको छ।
स्टक ब्रोकर र विकास बैंकको उछाल
सन् २०२३ र २०२४ को तुलनात्मक तथ्यांकले स्टक ब्रोकरमा सन्दिग्ध कारोबारको संख्यामा ६२ बाट २९० मा वृद्धि भएको देखाउँछ। यसैगरी, कारोबारको रकम पनि ४२ करोड ९६ लाख रुपैयाँबाट बढेर ६४ करोड रुपैयाँ पुगेको छ।
विकास बैंकहरूमा पनि यस्तै प्रवृत्ति देखिएको छ। सन्दिग्ध कारोबारको संख्या ३३० बाट ६१२ पुगेको छ भने रकम ४७ करोड २७ लाख रुपैयाँबाट ६२ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकमा पनि संदिग्ध कारोबारको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०२३ मा ५ हजार २८२ रहेको संदिग्ध कारोबार संख्या २०२४ मा ७ हजार ७१३ पुगेको छ। सन् २०२३ मा ३८अर्ब ७२ करोड ८७ लाख रुपैयाँ रहेको संदिग्ध कारोबार रकम सन् २०२४ मा ३२ अर्ब१२ करोड ९५० लाख रुपैयाँमा झरेको छ।
प्रतिक्रिया दिनुहोस्