लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैनः उर्जामन्त्री खड्का


काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले  लोडसेडिङको  हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताएका छन् ।

बुधवारको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका बताएका हुन् । उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनैपनि बहानामा लोडसेडिङ्ग नहुने उल्लेख गरे ।

बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको उनले बताए । गत वर्षमा पनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको दाबी गरे ।

कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत आपूर्तिमा समस्या भएको उल्लेख गरे । मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरुमा झनै नहुने उनकाे दाबी छ ।

मन्त्री खड्काले मुलुकको भविष्य विद्युत क्षेत्रमा रहेको बताए । मन्त्री खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन् ।

उनले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने काम गरिरहेको बताएका हुन् । भ्रम फैल्याउनेहरुले राति १२ बजे समेत बत्ती गयो भन्दै आफूलाई फोन गर्ने गरेको उनकाे भनाइ छ ।

बत्ती गएको ठाउँ सोधेर नेपालको उक्त ठाउँमा फोन गरेर बुझ्दा बत्ती नगएको तर बत्ती गयो भन्दै दुःख दिने काम गरेको उनको भनाइ छ । यस्ता दुष्प्रचार गरिएका विषयमा नलागिकन यथार्थमा रहन आग्रह गरे ।

अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भनेर सूचना दिने गरेको समेत मन्त्री खड्काले बताए । उत्पादनका कमीले लोडसेडिङ नभएको दाबी गर्दै कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएको उल्लेख गरे । उर्जा, पर्यटन र कृषिबाट नेपालको समृद्धि सम्भव रहेको उनकाे भनाइ छ । 

मन्त्री दीपक खड्काले उद्योगधन्दाहरुमा पर्याप्त विद्युत दिएको दाबी गरे । उनले यो हिउँदमा पर्याप्त विद्युत दिन नसकेको र मंगलवार रातिबाट उद्योगधन्दालाई पुग्नेगरी विद्युत दिइएको बताए ।

उनले त्यसबाट बाँकी रहेको करिव डेढ सय मेगावाट विद्युत निर्यात शुरु गरिएको जानकारी दिए । सांसदहरुलाई यथार्थमा रहेको सूचना प्रचार प्रसार गर्न पनि उनले आग्रह गरे । सत्य सूचनाले मात्रै जनता लाभान्वित हुने उहाँको भनाइ छ । सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुनेतर्फ पनि सचेत गराए ।

मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको बताउनु भयो । उहाँले आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको बताए ।