स्याङ्जामा अवैध उत्खनन र ओसार–पसारमा संलग्न सवारी साधन नियन्त्रणमा


स्याङ्जा । स्याङ्जाको विभिन्न स्थानमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसारमा संलग्न सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको टोलीले दुईवटा ट्याक्टर र एक जेसिबि नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएको हो।

जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ४ घट्टेस्थित दरौ खोलाको किनारमा माटो र ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा ग १ क ३३११ नम्बरको जेसीबि र ग १ त ५०२० नम्बरको ट्याक्टर फेला परेपछि प्रहरीले दुवै सवारीलाई नियन्त्रणमा लिई अर्जुनचौपारी गाउँपालिकाको कार्यालयमा बुझाएको हो।

त्यसैगरी, पुतलीबजार नगरपालिका वडा नम्बर १३ स्थित दरौखोलाको पुलबाट करिब २०० मिटर टाढा ग १ त ५२२७ नम्बरको ट्याक्टर ढुङ्गा लोड गर्दै गरेको अवस्थामा फेला परेको थियो। उक्त ट्याक्टरलाई समेत नियन्त्रणमा लिई पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले प्राकृतिक स्रोत दोहन रोक्न निरन्तर निगरानी र कारबाही जारी रहने जानकारी दिए।