देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौँमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौँ महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले के भयो र ? के भएको छ र ? जस्ता भाष्यहरू बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताए ।

अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै प्रश्न गरे । संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको बताए । नकारात्मक कुरालाई प्रचार गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाए ।  उपप्रधानमन्त्री सिंहले जनताको अधिकार सुरक्षित राख्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए ।