गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने एमालेको निर्णय


काठमाडाैँ । नेकपा (एमाले) ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई देशव्यापी रूपमा उत्सवको रूपमा मनाउने निर्णय गरेको छ।

आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि पार्टीका महासचिव शङ्कर पोख्रेलले पत्रकारहरूसँग कुरा गर्दै देशभरका पालिकामा विशेष कार्यक्रम गरेर गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाइने जानकारी दिए ।

महासचिव पोख्रेलका अनुसार काठमाडौँ उपत्यकामा भने सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम आयोजना गरिनेछ। सो कार्यक्रमको संयोजन नेपाल जन सांस्कृतिक महासङ्घले गर्नेछ भने पार्टी कार्यालयबाट आवश्यक समन्वय गरिनेछ।

उनले भने, “समसामयिक विषयमा केन्द्रित भएको बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई देशव्यापी रूपमा उत्सवको रूपमा मनाउने निर्णय गरेको छ। पार्टी कमिटी तथा स्थानीय पालिकाहरूले विशेष कार्यक्रम गरी यो दिनलाई जनउत्सवको रूपमा मनाउनेछन्।”

गणतन्त्र दिवसलाई जनताको अधिकारको उत्सवको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै पोख्रेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने ऐतिहासिक उपलब्धि भएको बताए ।

उनले गणतन्त्रलाई सबल र सुदृढ बनाउँदै जनताको सम्प्रभुतालाई कायम राख्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे । “जनताको सम्प्रभुताको विरुद्धमा हुने कुनै पनि गतिविधि एमालेलाई स्वीकार्य छैन,” पोख्रेलले भने, “गणतन्त्र जनताको सार्वभौम शासन व्यवस्था हो, यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ।”

एमालेले देशभरका जनसमुदायलाई गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउन हार्दिक आह्वान समेत गरेको छ।