काठमाडाैँ । नेपाली काँग्रेसकी सांसद रुक्मिणी कोइरालाले संविधान कार्यान्वयन प्रभावकारी बनाउन सरकारलाई आवश्यक कानुनहरू तत्काल निर्माण र कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।
बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कोइरालाले संघ, प्रदेश र स्थानीय तहबिच अधिकारको स्पष्ट विभाजनसहित कानुन निर्माण गर्न र त्यसलाई यथाशीघ्र लागू गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, “सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनहरू छिटोभन्दा छिटो बनाएर कार्यान्वयन गर्नुपर्छ । सबै ऐन छिटो बनाएर प्रदेश र स्थानीय तहलाई प्रत्यायोजित गर्नुपर्छ । प्रदेश सरकारले समेत स्थानीय तहलाई अधिकार दिनुपर्छ ।”
सांसद कोइरालाले संघ, प्रदेश र स्थानीय तहबिचको अधिकार नबाझिने गरी कानुन सावधानीपूर्वक बनाइनुपर्नेमा जोड दिइन् ।
साथै, वित्तीय समानीकरण र राजस्व बाँडफाँटसम्बन्धी स्पष्ट र समान कानुनको आवश्यकता रहेको बताउँदै उनले मालपोत र नापीसम्बन्धी सेवामा जनआक्रोश बढिरहेको उल्लेख गरिन् ।
उनले मेलमिलाप समितिको भूमिका स्पष्ट हुने गरी पृथक कानुन निर्माणको माग गर्दै उनले मेलमिलाप प्रक्रियालाई विधिक स्पष्टता दिनुपर्ने धारणा राखिन् ।
प्रतिक्रिया दिनुहोस्