मन्त्री दाहालद्वारा कोरियामा रेलसेवा र पूर्वाधार विकासबारे छलफल


काठमाडौँ । दक्षिण कोरिया भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले त्यहाँको रेलसेवा र यातायात पूर्वाधार विस्तारसम्बन्धी विषयमा कोरियन अधिकारीहरूसँग छलफल गरेका छन् ।

मन्त्री दाहालले कोरेल कर्पोरेशनको कार्यालयमा पुगेर उच्चस्तरीय अधिकारीहरूसँग अन्तरक्रिया गरेका हुन् । भेटवार्तामा नेपालमा रेलसेवा विस्तारको सम्भाव्यता, अध्ययन र अनुसन्धानमा दुवै मुलुकबिच सहकार्य गर्न सकिने विषयमा विस्तृत छलफल भएको थियो।

भ्रमणमा सहभागी प्रतिनिधिमण्डलका सदस्य मनोज दाहालका अनुसार, यसअघि नेपाल भ्रमण गरेका कोरेल कर्पोरेशनका अधिकारी र नेपालको रेल विभाग तथा लगानी बोर्डका प्रतिनिधिबिच भएको छलफल तथा त्यसबाट बनेका प्रारम्भिक समझदारीहरूको प्रगतिको समेत समीक्षा गरिएको थियो।

त्यसैगरी, मन्त्री दाहालले कोरियन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरूसँग पनि भेट गर्दै आपसी हितका परियोजना तथा पूर्वाधार क्षेत्रमा सम्भावित सहकार्यका विषयमा चर्चा गरेका थिए ।

भ्रमणको क्रममा मन्त्री दाहालसँग दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली समुदायका प्रतिनिधिहरूले पनि भेटघाट गर्दै आफ्ना समस्या, गुनासा र सम्भावित सहयोगका विषयमा छलफल गरेका थिए।