दरमखोला हाइड्रो इनर्जी : पहिलो चरणको आइपिओमा आजदेखि आवेदन खुल्ला


काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ८८ हजार ८९० कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशनको लागि जेठ २० गते अनुमति दिएको थियो ।

जसमध्ये जारीपूँजीको १० प्रतिशत अर्थात रु। १०० अंकित दरका १० लाख ३० हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र गुल्मि जिल्ला मुसिकोट नगरपालिका, बाग्लुङ जिल्ला गलकोट नगरपालिका, बाग्लुङ जिल्ला बडिगाड गाउँपालिकाका स्थानिय वासिन्दाहरुका लागि र सर्वसाधारणका लागि छुट्टाइएको सेयरमध्येको १० प्रतिशत अर्थात रु। १०० अंकित दरका ५८ हजार ३९० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा असार २३ गते र ढिलोमा साउन ६ आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका लगनीकर्ताले असार २३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले बिक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्था,ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोट शाखा,प्रभु बैंकको गलकोट शाखा,दरमखोला पावर हाउस र आवश्यकताअनुसार स्वीकृती लिएपछि अन्य संकलन केन्द्रहरुबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।