काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलहरूसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।
सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपतिले जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, घरेलु तथा साना उद्योग र डिजिटल उद्यमजस्ता क्षेत्रमा युवालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले नेपालका युवाहरू स्वदेशमै रोजगारी, सीप र स्वाभिमानसहित अघि बढून् भन्ने सबैको चाहना भए पनि त्यसका लागि दृढ संकल्पका साथ अघि बढ्न आवश्यक रहेको उल्लेख गरे ।
उनले देशका युवाहरूको सिर्जनात्मकता, जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय सहयोग गर्नुपर्ने धारणा राखे । युवाका विचारलाई व्यावसायिक योजनामा बदल्न सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने मनोबल बढाउन र सफलताको मार्गचित्र देखाउनुपर्ने पनि उपराष्ट्रपतिले बताए ।
उनले भने, “सरकार मात्र होइन, निजी क्षेत्र, शैक्षिक संस्थान र नागरिक समाज मिलेर युवालाई स्वरोजगार, नवप्रवर्तन र आर्थिक आत्मनिर्भरतातर्फ लैजान साझा जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ।”
व्यवसाय सुरू गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित गर्नुका साथै आवश्यक सीप र ज्ञान प्रदान गर्न ढिलाइ नगर्नुपर्ने उनको भनाइ थियो। व्यवसायिक योजना, बजारको पहुँच, ब्राण्डिङ लगायतका पक्षमा युवा पुस्तालाई मार्गदर्शन गर्न सबै सक्षम पक्षहरू जिम्मेवार हुनुपर्ने पनि उनले बताए ।
मुलुकमा बेरोजगारी घटाउँदै युवालाई आफ्नै व्यवसाय सुरू गर्न उत्प्रेरित गर्न आवश्यक रहेको भन्दै उपराष्ट्रपतिले नयाँ सोच, प्रविधि र समाधानमार्फत सामाजिक तथा आर्थिक समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्