काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई आर्थिक तथा उत्पादक क्षेत्रका रूपमा विकास गर्नेगरी बजेट विनियोजन गरिएको बताएका छन् ।
राष्ट्रिय सभाको मंगलवाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ठकुरीले वन क्षेत्रको संरक्षण र उपयोगलाई सन्तुलनमा राख्नेगरी बजेट प्रश्ताव गरिएको बताएका हुन् ।
उनले निजी, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू–जलाधार संरक्षण, जैविक विविधता र जडिबुटिको संरक्षण, चुरे क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनलाई प्राथमिकता दिइएको दाबी गरे।
उनले सामुदायिक, साझेदारी तथा सरकारले व्यवस्थित गरेका वनमा उपयुक्त प्रवर्धन प्रणाली प्रयोग गरी ढलेका, सुकेका, बुढा तथा परिपक्व रुख संकलन गरेर काठ र दाउराको उत्पादन र आपूर्ति बढाउने सरकारको योजना रहेको समेत सुनाए ।
उनले प्रदेश सरकारलाई काठ, दाउरा र फर्निचर उत्पादनका लागि सशर्त अनुदानको व्यवस्था गरिएको बताए ।उनले वन व्यवस्थापनका लागि प्रदेश सरकारहरुलाई समेत सशर्त अुनदानको व्यवस्था गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्