ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा


काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।

यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने “ग्रीनसुओ अप्सन” सहितको व्यवस्था गरिएको जनाएकाे छ ।

यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राखेकाे छ ।

याे बन्दमुखी योजनामा प्रति इकाई मूल्य १० रूपैयाँका दरले सर्वसाधारणमा १२ करोड इकाईहरू खुला गरिएकाे हाे । यसमा न्यूनतम लगानी १०० इकाई र अधिकतम लगानी योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाईसम्म लगानी गर्न सकिने छ ।

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।