बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले पायाे आइपिओ निष्कासन गर्न अनुमति


काठमाडौँ । केबलकार र होटलमा लगानी गरेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले असार १९ गते कम्पनीलाई ५८ करोड ६० लाख रूपैयाँबराबरको आइपिओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अङ्कित मूल्यका ५८ लाख ६० हजार कित्ता सेयर जारी गर्दैछ ।

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले पाएको छ ।

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडमा हाल संस्थापक समूहको ७९.२९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सर्वसाधारणका लागि बाँकी २०.७१ प्रतिशत सेयर खुला गरिने कम्पनीले जनाएको छ ।

तनहुँको बन्दीपुरमा केबलकार सेवा सञ्चालन र होटल निर्माण गर्दै आएको कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब २४ करोड ४० लाख रूपैयाँ छ । आइपिओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८३ करोड रूपैयाँ पुग्नेछ ।