१० वर्षमा खेतीयोग्य जमिनमा १६.६ प्रतिशत कमी, श्रमशक्तिमा ६५.५ प्रतिशत सहभागिता


काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ का तथ्याङ्क अनुसार, नेपालमा खेतीयोग्य जमिनमा ठूलो मात्रामा कमी आएको छ।

२०६८ देखि २०७८ सम्मका दस वर्षमा खेतीयोग्य जमिन करिब १६.६ प्रतिशतले घटेर २२ लाख हेक्टरबाट १८ लाख हेक्टरमा झरेको छ।

सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा खेतीयोग्य भूमिको कमी देखिएको छ भने गण्डकी र कर्णाली प्रदेशमा पनि क्रमशः ७ प्रतिशत र ५.४ प्रतिशतले उब्जाउ भूमिको न्यूनता आएको छ। सुदूरपश्चिम प्रदेशमा मात्र ९.१ प्रतिशत कमी भएको तथ्याङ्कले देखाएको छ।

जनगणना अनुसार नेपालको कुल जनसंख्या करिब २ करोड ९१ लाख रहेको छ। जसमा १० वर्ष वा सोभन्दा माथिको उमेर समूहमा पर्ने २ करोड ३९ लाख अर्थात ८२.२ प्रतिशत मानिस आर्थिक रूपले सक्रिय श्रमशक्तिमा छन्। ती मध्ये १ करोड ५७ लाख (६५.५ प्रतिशत) व्यक्तिहरूलाई श्रम बजारमा सक्रिय मानिएको छ। कुल श्रमशक्तिमा ८२ लाख पुरुष र ७५ लाख महिला रहेका छन्।

प्रदेशहरूको आधारमा हेर्दा आर्थिक रूपले सक्रिय जनसंख्या सबैभन्दा बढी वागमती प्रदेशमा (३४ लाख) रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) रहेको छ। भौगोलिक हिसाबले तराई क्षेत्रमा सबैभन्दा बढी (७८ लाख) श्रमशक्ति सक्रिय छ भने हिमाली क्षेत्रमा सबैभन्दा कम (१० लाख) सक्रिय रहेको तथ्यांकले देखाएको छ।

श्रम सहभागिता दर देशभर ६५.५ प्रतिशत छ, जसमा पुरुषको सहभागिता ७१.३ प्रतिशत र महिलाको ६०.४ प्रतिशत रहेको छ। बेरोजगारको संख्या ७ लाख ६७ हजार ६ सय ५८ पुगेको छ, जसमा ४ लाख ९ सय २८ पुरुष र ३ लाख ६६ हजार ७ सय ३० महिला छन्।

रोजगारीको वर्गीकरण गर्दा, आर्थिक रूपले सक्रिय जनसंख्याको २८.६ प्रतिशत अरुको काम गर्ने, १.४ प्रतिशत रोजगारदाता, ५५.३ प्रतिशत आफ्नै काम गर्ने र १४.५ प्रतिशत परिवारलाई सहयोग गर्ने वर्गमा पर्छन्।

कुल श्रमशक्तिको ५७.३ प्रतिशत (८५ लाख) व्यक्ति प्राथमिक क्षेत्र अर्थात् कृषि, वन तथा मत्स्यपालनमा संलग्न रहेका छन्। १० वर्षमाथिका जनसंख्यामा करिब ४२.९ प्रतिशत अर्थात १ करोड ३ लाख व्यक्ति नियमितरूपमा रोजगारमा छन्।

यस्तै, १० देखि १७ वर्ष उमेरका बालबालिकाको श्रमशक्तिमा सहभागिता दर ३२.१ प्रतिशत रहेको छ, जसमा पुरुष ३१.९ प्रतिशत र महिला ३२.२ प्रतिशत छन्।