काठमाडौँ । बागमती प्रादेशिक विश्वविद्यालयले यसै शैक्षिक शत्रदेखि विद्यार्थी भर्ना लिने तयारी गरे पनि अझै आङ्गिक क्याम्पसहरू टुङ्ग्याउँन सकेको छैन ।
विश्वविद्यालयले आङ्गिक क्याम्पसका लागि आवेदन लिएको ४ महिना पुगिसक्दा समेत अन्योल कायमै छ ।
विश्वविद्यालयले ‘बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन आवेदन दिने सम्बन्धी सूचना’ गत फागुन २८ गते निकालेको थियो । एकमहिनाको समय दिएर निकालिएको सूचनामा ४० भन्दा बढी क्याम्पसले आवेदन दिएका थिए ।
आङ्गिक क्याम्पसको आवेदन लिएर बसको बागमती विश्वविद्यालयले कक्षा १२ को नजितासँगै भर्ना लिने तयारी गरेको छ ।
विश्वविद्यालयका अध्यक्ष डा.चन्द्रमणि पौडेलले भने,“हामीले क्याम्पसबारे टुङ्गो लगाउन बैशाखमै सिफारिस (बागमती प्रदेश सरकारलाई) गरेका हौँ तर अहिलेसम्म निर्णय हुन सकेको छैन । हामी स्वायत्त छैनौँ, सरकारले निर्णय गरिदिँदैन ।”
विश्वविद्यालयको घोषणा अनुसार आउँदो भदौदेखि नै भर्ना सुरु गर्नुपर्ने हुन्छ । भर्नाको तयारी गर्नुपर्ने विश्वविद्यालयको आङ्गिक क्याम्पसहरूमात्रै होइन अझै कार्यविधि समेत जारी हुन सकेको छैन ।
कार्यविधि जारी नहुँदा आङ्गकि क्याम्पस बन्न चाहने क्याम्पस समेत अन्योलमा परेका छन् । आफ्ना कर्मचारी र सम्पत्ति व्यवस्थापनबारे क्याम्पसहरू अन्योलमा देखिएका छन् ।
समयमै कार्यविधि जारी नभएपछि आङ्गिक क्याम्पसका रुपमा विश्वविद्यालयमा समायोजन हुन चाहेका क्याम्पस समेत सशङ्कित भएका छन् ।
एक क्याम्पस प्रमुखले भने,“ हामीले आवेदन त थिएका छौँ तर अहिलेसम्म विश्वविद्यालयको कार्यविधि जारी नै हुन सकेको छैन । हाम्रा कर्मचारी, शिक्षक र भौतिक पूर्वाधारबारे के निर्णय हुन्छ भन्ने कुरा समयमै थाहा पाउनुपर्छ । हामीलाई चित्त बुझेन भने नजान पनि सक्छौँ ।”
निवेदन दिने सबै सामुदायिक क्याम्पस छन् । विश्वविद्यालयले छलछाम गर्नखोजे एकमुष्ट रूपमा निवेदन फिर्ता लिने गरी समेत छलफल सुरु भएको छ ।
आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालयका लागि २५ करोड रुपैयाँ मात्रै छुट्टाएको छ ।
रकम कम भएपछि विश्वविद्यालयले सुरुमा १० वटा आङ्गिक क्याम्पस लिन खोजे पनि अहिले सङ्ख्या घटाउन खोजिएको छ ।
विश्वविद्यालयले आफ्नो वेवसाइटमा १३ ओटा कोर्ष र ३ ओटा फ्याकेल्टी सार्वजनिक गरेको छ ।
बागमति विश्वविद्यालयको वेवसाइट अनुसार विज्ञान तथा प्रविधि, व्यवस्थापन तथा कानुन र शिक्षा तथा सामाजिक विज्ञान सङ्काय सार्वजनिक गरेको छ ।
शिक्षा र सामाजिक विज्ञान फ्याकेल्टिको पूरा कोर्स पनि सार्वजनिक भएको छैन । अध्यक्ष पौडेलले भने,“ सबै फ्याकेल्टीको सबै सेलेबस तयार छन् । मानविकीको भने यसपटक भर्ना हुँदैन ।”
प्रतिक्रिया दिनुहोस्